साथी श्री एस. एल. शर्मा, भद्रपुरले ५/७ वर्षदेखि भेट हुँदा बारम्बार '२००७ सालको क्रान्तिको इतिहास लोप हुन लाग्यो, क्रान्तिमा संलग्न व्यक्तिको लेखाइले हामीलाई प्रेरणा मिल्छ' भनी घचघच्याई रहनुहुन्थ्यो ।
श्री वासुशशी, संचयका सम्पादक, काठमाडौंले पनि - "मेची विशेषांकको निम्ति, २००७ सालको क्रान्ति र त्यस क्रान्तिकालमा गठित 'सामयिक सरकार' का सम्बन्धमा केही लेखिदिनु पयो” भन्नु भएको थियो, म काठमाडौं गएको अवस्था २०४१ साल जेष्ठमा ।
लेख्ने कामलाई शान्त वातावरण र प्रफुल्ल चित्तको ज्यादै आवश्यकता पर्ने, त्यस्तो अनुकुल वातावरण जुटाउन सकिएन । लेख्न नथालेसम्म परिस्थिति आफैं मिल्न पनि नआउने र आज लेख्न बसें अनि सोच्न थालें ।
'२००७ सालको क्रान्ति' भन्ने बित्तिकै क्रान्तिसित गाँसिएका विभिन्न पक्षका तथ्यहरू आँखाअघि घुम्न थाले । लेख्न कहाँबाट सुरु गर्ने ? क्रान्ति सम्बन्धी विवरण ज्यादै लामो होला र क्रान्तिको सबै पक्षको सम्पूर्ण ज्ञानमा अपर्याप्त होला । यसैले संक्षेपमा लेख्ने प्रयास गरेको छु, लामो अवधि, झण्डै ३४ वर्षपछि । अझ त्यसभन्दा पनि अघिका घटनाक्रम सम्झनाका भरमा लेखिएको, कति कुरा बिर्सिएको पनि हुन सक्छ । त्रुटी भएकोमा क्रान्तिसित सम्बन्धित सज्जनहरूले सच्याउनु हुने र भूल भए क्षमा प्रदान गर्नु हुने आशा राख्तछु ।
राणाकालको एकतंत्री हुकुमी शासनले जनता र राजालाई कत्तिको पिरोलेको र बिरोलेको थियो भन्ने कुरा संक्षेपमा उल्लेख गर्नु अप्रासंगिक नहोला । नेपालभित्र नेपाली जनतालाई कुनै संघ-संस्था खोल्ने प्रजातान्त्रिक परिपाटीका कुरा त परै रहोस्, ठूलो हिम्मत गरेर सानो विद्यालय चाहिन्छ भनियो भने पनि त्यो भनाइले राजद्रोहको संज्ञा पाउँथ्यो । जनतामा चेतना आएपछि एकतन्त्री शासन चलाउन पाइँदैन । यो त्रासले प्राथमिक शिक्षासम्म पनि बालक बालिकाले पाउने व्यवस्था मिलाउनु दण्डनीय थियो । जीविकाको निम्ति कुनै उद्योग धन्धा, कलकारखाना थिएन । रोजगारका नाममा २/४ पैसा जम्मा गर्न सक्ने र कठोर हृदय भएको व्यक्तिले लगानी गर्थ्यो । धनी झन् धनी बन्दै जाने र गरीब झन गरीब बन्दै सुकुम्बासी बनाउने, आर्थिक असमानताको खाडल झन् झन् फराकिलो पार्दै लैजाने यो एउटा मुख्य पेशा हो नेपालीको ।
देशभित्र रोजगार नपाएका नेपालीहरू प्रत्येक साल मंसिर लागेपछि वा दशैंपछि लगत्तै जीविका खोज्न भारतको आलमोडा, देहरादुन, लखनउ, दरभंगा, पटना, कलकत्ता आदि ठाउँमा कुल्लिगिरी गर्न र होटलको कान्छाबहादुर बन्न र दार्जीलिङ, आसामका चिया कमानमा कलम काट्न, चोइला काट्न, छुरी, फरूवा, बञ्चरो चलाउन जानु पर्ने बाध्यताले अंगालेको जीवन खेपेर जडाउरी बदल्ने, सरकारलाई तिरो तिर्ने पैसा जुटाउनु पर्थ्यो । त्यसरी पनि गुजारा नचलेपछि बर्माको घनघोर जंगल फाँडेर जीविका चलाउन, प्राण रक्षा खातिर विदेशिएका नेपालीहरूको कहानी अलग्गै छ । जीविका खातिर बृटिश गोरखा फौजमा भरना हुन पाउनु त नेपालीको अहोभाग्य नै सम्झनु पर्छ । चिया कमानका निम्ति कुल्ली र गोरखा पल्टनका सिपाहीहरू गोटागन्ती कमिसनमा बेचिएका सरकारद्वारा । त्यसको कथा र व्यथा अझ व्यापक र छुट्टै छ । गोरखा पल्टनमा उन्नति गरेर धन सम्पत्ति र मान मर्यादा कमाउँन पाए भने उनीहरूमा चेतना आँउछ र सरकारको थिचोमिचो अन्याय र अत्याचार बुझ्न सक्ने हुन्छन् । अनि आफ्ना उपर आइलाग्न सक्ने छन् भन्ने त्रासले गोरखा पल्टनमा सुबेदारभन्दा माथिको दर्जा दिन नपाउँने बन्देज राणा सरकारले लगाएको । सुबेदार मेजर र लेफ्टिनेन्ट चाहिं अनरेरी(Honorary) दिइन्थ्यो, पैसा विनाको (इज्जत) रित्तो- भोको ।
नेपालभित्र राणा बाहेक अरूले जंगीमा जनरल पदवी नपाउँने राणाले चाहिं जन्मने बित्तिकै जनरल पदवी र खानकी, भत्ता पाउने । निजामति तर्फ डाइरेक्टरसम्म पनि राणाले नै हुनुपर्ने अरूले नपाउँने कानुनी छेकवार लगाएको थियो र कानुन चाहिं श्री ३ महाराजाधिराजका इच्छाधिनको म्याट्रिकसम्मको पढाइको हाईस्कुलका नाममा राणाका सन्तानमात्र पढाउँने दरबार स्कुल एउटैमात्र थियो - पटना युनिभरसिटीद्वारा परीक्षा कन्ट्रोल गरिएको । पछि श्री ३ महाराज चन्द्र शमशेरले त्रि-चन्द्र कलेज खोल्दा उद्घाटन पछि “आज राणा वंशवृक्षमा कुठाराघात गरियो” भनी राणा समुहमा खिन्नता व्यक्त गरिएको थियो रे । जागिरको ग्यारेन्टि त कसैको पनि छँदै थिएन । प्रधानमन्त्री श्री ३ महाराजलाई मन परेन कि जागिर खोसिनु मात्र होइन, सर्वस्व गरी माग्नु, देश निकाला हुनु र ५/१० वर्ष कैद हुनु साधारण कुरा जत्तिकै थियो । म सम्झन्छु - श्री राममणि, श्री भरतमणि आ.दी. हरूको बिल्लिवाठ भएका यस्ता घटना कति हुन् कति !
एकतन्त्री शासन पद्धतिमा जनपक्ष बलियो हुन नदिनु, जनजागृति रोक्नु, स्वतन्त्र संघ-संस्था खडा गर्न नदिन स्वतन्त्र विचारको अदानप्रदान हुन नपाउने गराउनु, राजनैतिक, आर्थिक अधिकार आफन्तले एकलौटी पाउने गर्नु, पारिवारिक अत्याचारको दोष सेवकहरू माथि थोपर्नु र उनीहरूलाई दण्ड दिनु, अधिकतम सुविधा चाटुकारहरूले पाउनु इत्यादि हुन्छ नै । जनताले यस्तो परिपाटीको राजकाजलाई जतिसुकै अवाञ्छनीय र निन्दनीय ठाने तापनि पारिवारिक एकतन्त्री जहानियाँ शासकले रूचाएको आवश्यकीय गुण त्यो ठहरिन्छ- शासकका दृष्टिमा र सामन्ती पद्धतिमा ।
जीविकाको खोजीमा भौतारिएर देश-विदेश चाहर्नु भन्दा पैताला चाटेर गुजारा चलाउँनु धेरै सुविधा ठहर्छ र त्यतापट्टि लागेर गुजारा गर्न बाध्य तुल्याइन्छ । अनि, चाटुकारहरूले त्यो परिपाटी देश र बेलाबखत, माटो सुहाउँदो ठीक छ भनेर अलाप्छन् नै । संघबद्ध बिनाको एक्लो अशक्तले यस्तोमा गुनासो पोख्नुबाहेक अरु के नै गर्न सक्छ र ? “संघे शक्ति कलौ युगे” भनेर ऋषिले बुझाएको बुझ्ने क्षमताको चेतना पल्टाउने बाटो नपाएपछि थिचोमिचोमा पर्न स्वाभाविकै नै थियो । अतः यस्तै यस्तै अनेकौं अन्याय र अत्याचारको लामो मारमा परेर त्यसको स्पष्टबोध भएको व्यक्तिले आफ्नो असन्तोष-उद्गार पोखेर व्यक्त गरिएको भावना राजद्रोह ठहरिने नै भयो यस्तो - परम्परा बसेका देशमा । यस्तै अत्याचारको चापको एउटा विजाङ्कुर हो, श्रीखण्डमान सिंह, श्री खड्गमान सिंह, श्री मैनाबहादुर आदि युवकहरूले खडा गरेको “प्रचण्ड गोर्खा " जस्तो संस्था विक्रम सम्वत १९८७ सालतिर ।
जनजागृति पलाएको र जनअसन्तोष बढेको फलस्वरूप नै वि.सं १९९५ सालमा युवक टंकप्रसाद आचार्यको अध्यक्षतामा “प्रजा परिषद" ले जन्म पायो । क्रूर राणा 'शासकको क्रोधाग्निमा पोलिएर अमर शहीद बन्न पुग्नु पयो- वीर दशरथ चन्द, धर्मभक्त, गंगालाल र शुक्रराज शास्त्रीले । दामल, जन्म कैद, नेल-गलफन्दी समेतका यातनामा कठोर काराबास भोग्नु पयो - श्री टंकप्रसाद आचार्य, श्रीगणेशमान सिंह समेत धेरै सज्जनहरूले । नामावली कति लम्याउँ ? यातना भोगेरै सयकडौं व्यक्तिले तकलिफ सहनु पर्यो । शासन सत्तामा समझदार व्यक्ति भइदिएन भने अर्थको अनर्थ हुन जान्छ । शासन हात लाग्ने बित्तिकै शासकले “मैले जे भने गरे पनि हुन्छ” भन्ने सम्झिदिन्छ । ‘शासन पद्धति भनेको जनताको नासो हो' भन्ने कुरा पटक्कै सम्झिदिदैन, भुसुक्कै बिर्सिदिन्छ । सचेत नागरिकले चाहिं “हाम्रो साझा सम्पत्ति (शासन पद्धति) धरौटको रूपमा शासकका जिम्मा नासो रहको छ” भन्ने कुरा जपिरहन्छ, बिर्सन सक्तैन मान्दैन ।
दुई वर्षको अल्पकाल वि.सं. १९९७ सालमा प्रजा परिषदको अन्त्य गरियो भन्ने धारणा बनाएर राणा शासन निश्चिन्त रह्यो । समय वित्तै गयो । त्यस्तैमा आजन्म कैद गरिएका मध्ये गणेशमान सिंह (हीराकाजी) जेलबाट उम्केर बाहिर जानुभयो ठूलो हिम्मत र साहसका साथ प्रजा परिषदलाई संजिवनी पियाउन । त्यसताकाको सन्धि अनुरूप राणा शासकहरूका अनुरोधमा बृटिश भारतमा वारेन्ट भयो श्री सिंहलाई । कतै पनि बस्न सुरक्षा मिलेन । आफन्तले सिंहलाई चिनेर बिर्सिदिये। त्यसबेला कृष्णबहादुर श्रेष्ठ उपनामले सिक्किमको पहाडी इलाकामा वरिष्ठ जमिन्दार श्री बाबुराम प्रधानका जिमिनदारीभित्र गाउँमा गुप्त भेषमा शिक्षक पेशा लिएर काल क्षेपण गर्दै रहनु पयो श्री सिंहले ।
विक्रम संम्बत २००१ सालतिरको कुरा हो । स्व. पूर्णबहादुर मानव ( सम्मानीय राज सभासद) त्यतिबेला 'पू. बा. नेवा' नामले भारत दार्जीलिङको चाँदमारी टोलमा बस्नुहुँदोरहेछ - आर्य समाजी श्री कृष्ण प्रधानका आश्रयमा । मेरो पनि डेरा चाँदमारी टोलमा नै थियो ७ रुपैयाँ मासिक किरायाको जीर्ण घरमा । मेरो त्यतिबेला त्यहाँ बस्नुको कारण साना नाबालक २ वटा छोरा मित्र र मणिलाई झापाको औलोबाट जोगाउनु र मेरा आश्रयमा रहने विद्यार्थीहरू श्री रामप्रसाद प्रसाईं, श्री हरिध्वज खत्री, श्री विमलध्वज खत्री, श्री चन्द्रप्रसाद उप्रेती, श्री हरिलाल उप्रेती यति ५ जनालाई प्राईभेट अध्ययन गराउँनु ।
समय र आफ्नो आर्थिक स्थिति सुहाउँदो विद्यार्थी पिच्छे भा.रु. २ मासिक दिने सर्तमा विद्यार्थीसंग बस्ने खाने गरी श्री पू. बा. नेवा नियुक्त हुनुभयो । उहाँका सहयोगी पहलमान (बलियो व्यक्ति) साथी लिएर । रहँदा बस्ता श्री पू. बा. नेवाज्यूको राजनैतिक विचारधाराको जानकारी हुन आयो - राष्ट्रियताले ओतप्रोत भएको ।
केही मात्रामा उहाँको विचार मलाई पनि मन पयो । “ .... १०० विद्यार्थीलाई मैले यहाँ तालिम गर्न पाएँ भने त्यसपछि ती विद्यार्थी लिएर म नेपाल पस्ने छु - राणाशाही खलबल्याउँन .....”भन्ने उहाँको जोशिलो उद्गार सुन्न पाइन्थ्यो । श्री नेवाजीका ३०/३५ विद्यार्थी पुग्दा २००७ साल आइहाल्यो ।
श्री कृष्णबहादुर श्रेष्ठ (गणेशमान सिंह /(हीराकाजी) त्यतिबेला (२००१ सालतिर) राती हाम्रो डेरा चाँदमारीमा पुग्नु हुन्थ्यो - ढोका ढक ढक्याउँन । र, उज्यालो रिमरिम हुँदा फर्कनु हुन्थ्यो । २/४ दिन बस्नेगरी आउनु हुँदा विहानै चिया खाएर एउटा कम्मल अनि २/४ पुस्तक बोकेर फूलबारी (भिक्टोरीया गार्डेन) मा गएर एउटा जंगल कुना पटिको बगैंचामा, जंगलपटि मोहोडा पारेर दिन बिताउनु हुन्थ्यो - पुस्तक हेरेर नै । विहानको खाना विद्यार्थीले फूलबारीमा नै लगिदिन्थे । बेलुका रात परेपछि फिर्नुहुन्थ्यो । तीन वर्षभित्र चाहिं बीच बीचमा बखत बखत आवत जावत गर्दा यस्तै दिनचर्याले अध्ययनरत हुनुहुन्थ्यो हीराकाजी ।
पू. बा. नेवा र हीराकाजी राणा शासन व्यवस्था पल्टाउने आयोजनाको छलफलमा लाग्नुहुन्थ्यो भने म चाहीं मूक दर्शकको रूपमा कुराकानी सुनिरहन्थें । क्रान्तिको मार्ग दर्शनका निम्ति, महात्मा गान्धीसित भेट गर्न जाने कुरा चल्यो । श्री गणेशमान सिंहजी भेट गर्न जानुभयो कृष्णबहादुर श्रेष्ठ उपनामले । राणाको पक्ष लिनु भएको आरोप लगाउँदै महात्मा गान्धीसँग राणाको क्रूर शासन सम्बन्धी चर्चा चलाउँदा महात्मा गान्धीबाट “नेपाल बर्बर देश है । भीतर नही जाना चाहीए । किनारेसे आगुन सुलगाओ" भन्ने मन्त्र लिएर श्री गणेशमान सिंह फर्किनु भयो । अब किनाराबाट आगो कसले लगाउने ? कसरी लगाउने ? कुराहरू चले । सचेत व्यक्तिको जमघटनै कार्यसम्पादनका लीग रूपरेखा कसरी कोरिने ? यस्तै चर्चा परिचर्चा चल्दै रहन्थ्यो । क्रमशः काठमाडौंबाट श्री कृष्णबहादुर श्रेष्ठलाई खोज गर्दै भेट्न दार्जीलिङ्ग आउन लाग्नुभयो राणा विरुद्ध विचारधारा बोकेका सज्जनहरू श्री टंकविलाश, श्री होराप्रसाद, सूर्यबहादुर भारद्धाज यस्तै थोरै नामको याद आउँछ, धेरैको नाम याद रहेन । नानीहरू पढाउँदै १/२ महिना बस्तै फिर्दै गर्नुहुन्थ्यो हीराकाजीका साथीहरू ।
विक्रम संवत २००२ सालतिर भारतले बृटिश साम्राज्यबाट अलग हुने चाँजो मिलाउन लागेपछि श्री गणेशमान सिंहको वारेन्ट पनि अलि खुकुलो भयो । त्यतिबेला श्री विश्वेश्वरप्रसाद कोइरालासंग भेट गर्न श्री गणेशमान सिंह कलकत्ता जानुभयो र पार्टीको जग बसाउन कुराकानी मिलाउनु भयो । त्यसपछि श्री बी. पी. बाबू दार्जीलिङ्ग आउनु भयो । पछिल्लो पटक आउनु हुँदा साथमा मातृका बाबू, श्री बालचन्द्र शर्मा, श्री कृष्णप्रसाद भट्टराई पनि हुनुहुन्थ्यो । श्री पू. बा. नेवा, श्री गणेशमान सिंह, श्री पं. धरणीधर, श्री सूर्यविक्रम, श्री हरिप्रसाद प्रधान आदि सचेत वर्गसंग भेट गरी राजनैतिक संगठनको आवश्यकता माथि बल दिइयो । कालिम्पोङमा गोर्खा लिगका नेता श्री डम्बरसिंह गुरुङ्ग, श्री रणधीर सुब्बा आदिसंग श्री वी.पी. बाबू समेतको भेटघाट भयो । क्रान्तिकारी संगठन बनाउन गोर्खा लिग सहमत भएन । गोर्खा लिग राणा पक्षमा ढल्किएको झल्क्यो ।
पार्टी गठन गर्ने क्रम आयो । श्री गणेशमान सिंह, प्रज्ञा परिषदको वर्किङ कमिटीको सदस्यको नाता र जेलमा रहनु भएका अरू सदस्य साथीहरू, अमर शहीद साथीहरू समेत पार्टीको कृयाकलाप जनमानसमा पुऱ्याई प्रजापरिषदलाई पुनः जिवित गराउने उद्देश्यले काठमाडौं जेलमा रहनु भएका श्री टंकप्रसाद आचार्यलाई अध्यक्ष मुकर्रर गराए र स्थानापन्न अध्यक्ष पदमा श्री विश्वेश्वरप्रसाद कोइरालाई आशन ग्रहण गराई, सर्वप्रथम नेपाली राष्ट्रिय कांग्रेसको जन्म भयो- बनारस यू.पी. भारतमा । त्यतिबेलाको आर्थिकभार कामाण्डर श्री गणेशमान सिंहले बोक्नु भएको थियो ।
त्यसपछि जनआन्दोलनको सन्दर्भमा श्री जयप्रकाश नारायण (भारतीय नेता) को मध्यस्थतामा श्री महावीर शमशेर राणाको आर्थिक अनुदानको भरमा मिलका कार्यकर्ता श्री मनमोहन अधिकारी लगायतका साथीहरूका सहयोगले श्री विश्वेश्वरप्रसाद कोइरालालाई अघि लाएर विराटनगर जुट मिलमा हडताल गराउन पुग्यो - नेपाली राष्ट्रिय कांग्रेस, २००२ साल हिउँदमा ।
श्री बी. पी. पक्राउ पर्नुभयो । साथै अनेक सहयोगी पनि । त्यस अवस्थमा नेपाली राष्ट्रिय कांग्रेसको अध्यक्षको स्थानापन्नता श्री मातृकाप्रसाद कोइरालाले डोर्याउनु भयो । उहाँलाई पनि नेपालको अनुरोधमा बृटिश भारतले पक्राउ गर्ने अवस्था आएकोले त्यो भार उहाँले त्यागिदिनु भयो । त्यसपछि नेपाली राष्ट्रिय कांग्रेसको स्थानापन्न अध्यक्षमा श्री डिल्लीरमण रेग्मी आउनु भयो र सचिवमा श्री प्रेमबहादुर कंसाकार ।
जेल मुक्त भएर आउनु भएका श्री बी.पी. बाबू र स्थानापन्न अध्यक्ष डिल्लीरमण रेग्मीका बीच अध्यक्ष पदका लागि तानातान भएर निकै संघर्ष चल्यो । श्री बी.पी. बाबूलाई अध्यक्ष पद दिलाउने कार्यक्रममा श्री गणेशमान सिंहले धेरै वकालत गर्नुभयो । दुबैलाई मिलाउने उद्देश्यले श्री केदारमान व्यथित र श्री पुष्पलाल दार्जीलिङ्ग आउनु भयो । 'बी.पी. बाबू र श्री डिल्लीरमण रेग्मीजीको मेलमिलाप नभएसम्म आमरण अनसन गर्ने' भनेर पर्चाहरू निकाली एक महिनासम्म हाम्रो डेरा रोवर्टसन रोड दिलकुशा हाउस दार्जीलिङ्गमा बस्नुभयो । तर अनसन गर्नु भएन । उहाँहरूको मेलमिलाप पनि भएन । त्यसपछि कांग्रेस पार्टीबाट विरक्त भएर श्री पुष्पलालजी श्री सुशील च्याटर्जीसंग दीक्षित भै कम्युनिष्ट पार्टीमा सामेल हुनुभयो । श्री केदारमान व्यथितजी वाराणसीतिर लाग्नुभयो । यो २००५ वा २००६ साल वर्षा कालको कुरा जस्तो लाग्छ । त्यति बेला श्री डिल्लीरमण रेग्मीजी र विश्वेश्वरप्रसाद कोइरालाजी दुवै नेपाली राष्ट्रिय कांग्रेसको अध्यक्ष हुनुभयो । पार्टी दुई भागमा बाँडियो । तापनि श्री डिल्लीरमण ग्रुप थोरै साथी लिएर बस्यो । श्री रेग्मीजी पनि प्रचारको सिलसिलामा एकपटक दार्जीलिङ्ग आउनु भै विचारको आदान प्रदान गर्नुभयो ।
नेपाली राष्ट्रिय कांग्रेसको जन्मभन्दा केही पछि श्री सुवर्णशमसेर राणा, श्री सूर्यप्रसाद उपाध्याय, श्री महेन्द्रविक्रम शाह (जुम्ली राजकुमार) आदि मिलेर 'नेपाली प्रजातन्त्र कांग्रेस' पैदा गराउनु भयो - भारतको कलकत्तामा । दुवै वा तीनै पार्टीले राजनैतिक गतिविधिलाई क्रमशः अघि बढाउदै ५ वर्ष बित्यो । तर क्रान्तिमा भने जस्तो प्रगति भएन ।
यसैबीच नेपाल र अमेरिका सरकारहरूको गुप्त सन्धि भै अमेरिकी फौज पोखरामा रहने कुराको सुइको श्री डिल्लीरमण रेग्मीद्वारा बाहिर आएपछि भारतीय नेताहरूका प्रयासले नेपाली राष्ट्रिय कांग्रेस (बी.पी. ग्रुप) र नेपाली प्रजातन्त्र कांग्रेसलाई सम्झौता गराई मिलाउदा 'राष्ट्रिय' र 'प्रजातन्त्र' वाक्यांश हटाएर, 'नेपाली कांग्रेसको ' जन्म भयो - २००७ साल सुरुमा । सायद जनताको परम आवश्यक र देशको मुख्य अंग 'राष्ट्रिय' र 'प्रजातन्त्र' दुवै वाक्यांश हटाइएकोले होला नेपालमा अहिलेसम्म नत राष्ट्रियताको जग नै बस्यो न त प्रजातन्त्रको नै ।
दुवै राजनैतिक पार्टीलाई मिलाउँदा, नेपाली प्रजातन्त्र कांग्रेसको रातो भुईंमा सेता ४ तारा अंकित रातो झण्डा 'नेपाली कांग्रेसको झण्डा' स्वीकारियो । र नेपाली कांग्रेसको प्रेसिडेन्टमा नेपाली राष्ट्रिय कांग्रेसका भूतपूर्व स्थानापन्न अध्यक्ष श्री मातृकाप्रसाद कोइरालालाई अघि सारियो, श्री विश्वेश्वरप्रसाद कोइरालालाई स्वीकारिएन । त्यसरी नयाँ रूपमा नेपाली कांग्रेसको गठन भएपछि क्रान्तिमा पाइला चाल्ने साइत नजिकै आएको महसुस गरी बयरगनिया (भारत, विहार, दरभंगा जिल्लाको एउटा रेल वे स्टेसनको नेपाल सिमाना छेउको बजार) मा क्रान्तिमा चाख राख्ने राणा शासन विरोधी सबै पक्ष बोलाइयो । सभाभेलामा नेपाली कांग्रेसले निर्णय गयो - “सशस्त्र क्रान्तिद्वारा अन्तिम अवस्थासम्म लडाइँ लडेर नै हार जीतको निर्णय लिने, बीचमा राणा सरकारसंग सम्झौता नगर्ने ...” भनी राणा शासन विरुद्ध नेपालमा सशस्त्र क्रान्ति गर्न गराउन पार्टीको सञ्चालक समिति विघटन गरी, पार्टी प्रेसिडेन्टमा श्री मातृकाप्रसाद कोइरालालाई सभाले एकाधिकार (अधिनायकत्व) सौंपियो ।
त्यसपछि शसस्त्र क्रान्ति सुरु भयो वीरगंजवाट - आई.एन.ए. का भूतपूर्व क्याप्टन, लिबरेसन आर्मीका सेनापति श्री पूर्णसिंहका कमाण्डमा । लडाइँ घमासान भयो । एक पटक सरकारी सेनाको व्यारेकमा हलचल मच्चियो । तर परिपक्व लडाका सिपाहीले धैर्यसँग काम लिए । क्रान्तिकारी नयाँ रिक्रुटको अपरिक्कता र असावधानीको कारणले गर्दा कतिपय जवानहरू साथै सेनानी श्री थीरबम मल्लले वीरगति प्राप्त गर्नुभएपछि त्यो मोर्चाबाट क्रान्तिकारी पछि हटेर कदम बदले । अनि विभिन्न अफिसरहरूका कमाण्डमा नेपाल तराईका जिल्लाहरूमा फैलिए ।
भैरहवा बुटवलमा श्री कुँवर इन्द्रजीतसिंहका नेतृत्वमा श्री बालचन्द्र शर्मा समेत सहयोगी भएको एउटा मोर्चा कायम गरी क्रान्तिकारीहरू अघि बढे । नेपालगंज नयाँ मुलुकमा श्री सी. बी. सिंहको नेतृत्वमा अर्को मोर्चा खडा गरी लडाइँ सुरु भयो । मोरंग विराटनगरमा श्री विश्वेश्वरप्रसाद कोइरालाका नेतृत्वमा सेनापति श्री रोमबहादुर थापाको कमाण्डमा संघर्ष सुरुभयो । विराटनगरलाई हेड क्वार्टर कायम गरी नेपालभरिका विभिन्न जिल्लाहरूमा मोर्चा खडागरी संघर्ष संचालन गरिए । झापामा श्री भैरवप्रसाद आचार्यका नेतृत्वमा सेनापति श्री बलबहादुर चेमजोङको कमाण्डरमा सशस्त्र क्रान्ति संचालन भयो । लामो अवधिपछि संझनाका भरमा लेख्नु परेको र सबै मोर्चामा आफू पुग्न पनि नसकेको, अनि त्यति बेला सञ्चार साधन पनि शुलभ नभएकोले धेरै मोर्चाहरूको वर्णन गर्न संभव भएन । यहाँसम्म लेखियो क्रान्तिकारीहरूको राणा शासन विरुद्ध संघर्ष चलाएको विवरण ।
अब मेची अंचलमा भएको संघर्षको वर्णन सुरु गरौं । त्यति बेला मेची वा अरू कुनै अंचलले कानुनी मान्यता ग्रहण गरेर जन्म लिएको थिएन । झापा जिल्लामा नेपाली कांग्रेसका क्रान्तिकारी योद्धाहरूको क्रान्तिकारीता, सबभन्दा पहिला झापा जिल्लाको सदरमुकाम झापा बजार (पुरानो प्रचलित नाउँ झापा झिलमिलिया) मा, सरकारी अड्डाखानाहरू-झापा गोश्वारा कचहरी -१ (प्रमुख जिल्ला अधिकारीको कार्यालय), झापा माल अड्डा -१, (मालपोत कार्यालय) झापा अमिनी - १ (झापा जिल्ला अदालत ), झापा हुलाक - १ र ४०० शाही सेनाका जवान, कप्तान श्री देवीबहादुर भण्डारीले हाक्नु भएको ब्यारेक - १ पुलिस (प्रहरी) को छुट्टै अस्तित्व कायम गरिएको थिएन । रामदल पल्टनका सिपाही अफिसरहरूलाई झापा अमिनीका माताहतमा अमिनीका हाकिम लेप्टेनले हाक्नुहुन्थ्यो - पुलिस थाना चौकीहरू जस्तो लाग्छ । बजार अड्डा ( मूल भन्सार) र वनजाँच अड्डा (वनविभाग) को सदरमुकाम भद्रपुरमा थियो । पहिले ८७ सालमा खडा भएको तेजारथ अड्डा (रुपैयाँ लगानी गर्ने) खारेज भई लहना बाँकी अमानतबाट असुल गर्ने गरी माल अड्डामा गाभिएको थियो । ब्यारेक त क्रान्तिका त्रासले भरखरै आएको । उसको छुट्टै कार्यालय क्याम्प थिएन । काम चलाउ छाप्रा र तम्बु टाँगेर काम चलाइएको थियो । माल अड्डालाई चारैतिर १/२ फिट गहिरो, ६ फिट चौडा खाडी खनेर त्यसका बाहिर पट्टी डिलमा बालुवा भरेका बोराको पर्खाल लागाएका थिए - बाहिरबाट आउने गोली रोक्न । खाडलभित्र मादल बजाएर र नाच गान गर्दै पहरा दिइरहका थिए सेनाका जवानहरू ।
युवाहरूमा होश हुदैन, जोश प्रशस्त हुन्छ । परिपक्व अभिभावक वा नेताले हो जगेडा राख्न लगाएर जोशलाई सदुपयोग गर्नु पर्ने । नजानिएका र जानिकन पनि नगरिएका काम कुरा कति छन् कति ? समय बित्तै जान्छ थाहा नापइकन । झापामा सशस्त्र क्रान्ति गरी अड्डाखाना कब्जा गर्न श्री विश्वबन्धु थापा, (भूतपूर्व रा. अध्यक्ष) श्री सीताराम भट्टराई, शाही सेनाबाट विद्रोह गरी निस्केका हबल्दार-१ र अर्को एक जवान (हबल्दार र अर्को एक जनाको नाम याद आएन ) विद्रोही हबल्दारद्वारा संकलित मार्का थ्री राईफल ४ र आवश्यक गोली गठ्ठा बोकेर झापा माल अड्डाभन्दा दक्षिणपट्टी अग्लो डिल आली (अर्दाङ) ले छेलिएर बस्नु भएछ सानो मोर्चा सम्झेर जुनेली रातमा । ३/४ पटक फायरको आदान प्रदान भयो । त्यसपछि शाही सेनाका तर्फबाट फायर भएन । क्रान्तिकारीहरूबाट फायरिङ हुदै रह्यो । १०/११ पटक बिसाई बिसाई फायर गरिसकेपछि जवाफमा फायर नहुँदा टाउको उठाएर हेर्ने सल्लाह भएछ । क्रान्तिका निम्ति देशको माटोमा बलिदान हुन तत्पर भएका हबल्दारले आली डिलबाट टाउको उठाएर ब्यारेक ट्रेन्चतिर हेर्नु भएछ । सिद्धहस्त सेनाका जवानले निशाना साध्यो । शिरमा तातो गोली लागेर क्रान्तिकारी साहसी हबल्दार तुरून्तै वीरगति प्राप्त गर्नुभएछ । साथीको लाश सम्हाल्नै होश र मौका नमिलेर हबल्दारले लिनु भएको राईफल र गोली गठ्ठासम्म हात लिई, क्रान्तिकारी साथीहरू वापस विराटनगर फर्किनु भयो । झापाको क्रान्तिको पहिला दौड समाप्त भयो ।
उपरोक्त घटनाका निकै पछि भारत विहारको पूर्वी किनार गलगलिया रेल वे स्टेसनमा हतियार प्राप्त हुने चाँजो मिल्यो । केन्द्रीय क्रान्तिकारी संचालकद्वारा बाक्ला बन्दी हतियारहरू पठाइए। श्री वलबहादुर चेम्जोङ, श्री विक्रम लामा, श्री फत्यबहादुर बुढाथोकी, श्री सीताराम भट्टराई आदि साथीहरूले हातहतियार, गोली गठ्ठाले भरिभराउ बाक्साहरू बैल गाडामा लदाएर पूर्व तर्फबाट नेपाल झापामा प्रवेश गर्यो क्रान्तिकारी दफाले । हतियार पाएपछि श्री भैरवप्रसाद आचार्य, श्री नरेन्द्रनाथ बास्तोला, श्री महानन्द सापकोटा, श्री मानबहादुर रंजीतकार समेतका साथीहरूले पहिला भारत सिमाना छेउका छोटी भन्सार अड्डाहरू, पुलिस थाना चौकीहरू, वन रेञ्ज कार्यालय आदि विना रक्तपात कब्जा गर्दै राणा शासन अन्तरगतका कर्मचारी हटाएर क्रान्तिकारीद्वारा कर्मचारीहरू भर्ना गरी नेपाली कांग्रेसका नामबाट भन्सार महसुल, ट्याक्स आदि असुल हुन थाल्यो । मेची नदीको शिर भागमा अवस्थित बाहुनडाँगी चौकीदेखि लिएर दक्षिण पश्चिम हुदै मोरंग सिमानासँग जोडिने रतुवा नदीसम्म भारत सिमाना छेउका चौकीहरू समस्त कब्जामा आए । र कांग्रेस अधिनस्थ गरिए । झापा जिल्लाको उत्तरी भेग पहाडका फेदीतिर अवस्थित प्रहरी चौकी थाना र वन रेञ्ज कार्यालय पनि सदरमुकाम छोडेर प्रायः सबै सरकारी इकाइहरू नेपाली कांग्रेसका चार तारे रातो झण्डा मुनि आए । त्यहाँका हातहतियार पनि क्रान्तिकारीहरूका हातमा एकत्र भए ।
त्यतिबेला राणा प्रधानमन्त्री श्री ३ महाराज मोहनशमशेरको विर्ता, अनारमनी को विर्तामाल तथा काठमहल अड्डाका हाकिम कप्तान श्री भूपालमानसिंह कार्की (वर्तमान राजसभा स्थायी समितिका सम्माननीय सभापति ) र उहाँका मातहतका कर्मचारी, अफिसर, सिपाही सबै गिरफ्तार गरिनुभयो- देखावटी हिसाबले । विर्तामाल कब्जा गर्नुअघि केहीबेर बन्दुक फायरको आदन प्रदान पनि भयो - वीर्ता मालका जवानहरू र क्रान्तिकारीहरूबीच । श्री भूपालमानसिंह कार्कीज्यूले त्यतिबेला उहाँको विचारमा बडो बुद्धिमत्तापूर्ण ढंगले व्यवहार गर्नुभयो - दोहरा चाल चलेर । उता राणा सरकारको खबर शाही सेनाको ब्यारेकसम्म पुऱ्याइदिनुमात्र होइन, यता क्रान्तिकारीहरूलाई पनि प्रोत्साहन दिन पछि पर्नुभएन । क्रान्तिकारीहरूको गतिविधि, ब्यारेकसम्म पुयाएर ब्यारेकको अफिसरलाई हतोत्साह नहुन र दिल्ली सम्झौता नभएसम्म ब्यारेकका जवानलाई आत्मसमर्पण नगर्ने सल्लाह दिँदै रहनुभयो । जुन कुरा नेपाली कांग्रेसका गुप्तचरद्वारा त्यतिबेला आएको खबर रिकर्ड गरिन्थ्यो । बाहिर खस्याक खुसुक चर्चा चल्दै गर्थ्यो त्यसबारे । र, श्री कार्कीज्यूको आत्मरक्षार्थ पालो पहराको व्यवस्था पनि मिलाउनु पर्यो क्रान्तिकारीहरूका नायकले । यसै सम्बन्धलाई लिएर झापा ब्यारेकलाई घेरा हालिएको फ्रन्टमा एकजना क्रान्तिकारी वीरको हत्या पनि भयो । जसको फलस्वरूप लिबरेशन आर्मीका जवानहरूमा असन्तोषको लहर दौड्यो र झण्डै झन्डै फौजी विद्रोह हुन लागेको स्थितिलाई दक्ष क्रान्ति संचालक श्री भैरवप्रसाद आचार्य र श्री बी. बी. चेम्जोङको प्रयासले विद्रोह हुन पाएन। तै पनि नर्सिङ ट्-वाकले रल्लु भएका बखत सिपाहीहरूको त्यस घटनाको स्मृति स्वरूप - प्रलाप बाहिर आउँथ्यो ।
जिल्लाको केन्द्र झापा बजारमा रहेका अड्डाखाना कब्जा गर्न श्री भैरवप्रसाद आचार्यको नेतृत्वमा सेनापति बी. बी. चेम्जोङको कमाण्डमा करिब ५०० जवानको सशस्त्र जत्थाले घेरा हाल्यो । झापाको रूहीमारी गाउँ श्री डिल्लीराज गणेशका घरमा र टाघनडुवा गाउँ श्री महादेवप्रसाद चौधरीका घर गाउँमा बेस क्याम्प खडा गरिएको थियो र, श्री डिल्लीराज गणेशले निर्भिकता पूर्वक क्रान्तिमा ठूलो सघाउ पुऱ्याउनु भएको थियो ।
त्यतिबेला झापा गोश्वाराका बडाहाकिम श्री अनिरुद्रप्रसाद सिंह (वर्तमान सम्माननीय अध्यक्ष अख्तियार दुरुपयोग निवारण आयोग) हुनुहुन्थ्यो । क्रान्तिकारीहरूका निर्णयमा जिल्लाका प्रायः सबै भाग परिसकेको र अड्डाखानामा पनि मालअड्डा सरकारी ब्यारेकले घेरेर बसेको (कारण माल अड्डामा सरकारी खजाना भा.रु. साढे चार लाख त्यतिबेला मौजदात थियो र त्यै रक्षागर्नु मात्र ब्यारेकको काम थियो) ले, जिल्ला तपाईंहरूका नियन्त्रणमा छ, म यसै किन बसिरहुँ ?' भनेर बडाहाकिम श्री अनिरुद्रप्रसाद सिंहले क्रान्तिका नेता श्री भैरवप्रसाद आर्चायसँग मैत्री भावले बिदा लिएर काठमाडौंका निम्ति प्रस्थान गर्नुभयो । यहाँनेर सम्झनु पर्ने कुरा के छ भने २००२ सालमा झापा मालको हाकिम सुब्बा श्री भैरवप्रसाद आर्चायले राजीनामा गर्नु भै खालिमा श्री अनिरुद्धप्रसाद सिंह झापा मालको हाकिम सुब्बामा बहाल हुनु भएको साविक र हालका हाकिमहरू हुनहुन्थ्यो विगत कालका ।
झापाको मोर्चा प्रायः ३ महिनाको घेराबन्दीका साथै कयौं संघर्षपछि मात्र बल्ल शाही सेनाका तर्फबाट सेतो झण्डा देखाई ब्यारेकका कमाण्डर कप्तान श्री देवीबहादुर भण्डारी समेत सम्पूर्ण जवानले क्रमशः हात हतियार जिम्मा दिई आत्मसमर्पण गर्नु परेको थियो । झापाको ब्यारेक क्रान्तिकारीहरूका हातमा पर्नासाथ श्री जी. बी. याकथुम्बा र श्री गिरीजाप्रसाद कोइराला मार्फत झापा मालको भा.रु. साढे चार लाख रुपैयाँ, नेपाली कांग्रेसको हेड क्वार्टर विराटनगरमा पुयाइयो । अनि झापा मालको ब्यारेकबाट अनारमनी वीर्तामाल कचहरीमा शाही सेनाका सबै जवान, सिपाही अफिसर समेत बन्दीको रूपमा ल्याइयो । घेराभित्र खाडलमा ५ महिनासम्म बसी पालो पहरा दिई रहँदा बिरामी परेकालाई औषधी उपचार गराई छोड पुर्जीसाथ १५ दिनपछि निहथ्था जवान बिदा गरियो । हात हतियार सबै नेपाली कांग्रेसका जिम्मा आए । स्मरण रहोस् श्री भूपालमान सिंहज्यूले यी फौजी जवानको आत्मसमर्पण गराउनमा पनि कलापूर्ण भूमिका खेल्नु भएको थियो ।
अनि पछि इलाम जिल्लाको सदरमुकाम कब्जा गर्न जाने तरखर भयो । बेस क्याम्प झापा रूहीमारीबाट उठ्यो र शनिश्चरे कप्तानबारीमा सर्यो । दुई रात त्यहाँ विश्राम गरेर इलामका लागि प्रस्थान गर्ने सल्लाह भयो । इलाममा सेना जानुअघि इलाका बडाहाकिम सायद विज्ञानशमशेर राणासँग शनिश्चरे निवासी रघुवीर बुढाथोकीलाई ‘क्रान्तिकारीहरू इलाम कब्जा गर्न आउनेवाला छन्’ भन्ने खबर सुनाउन पठायो । र उहाँले पनि मध्यस्थता गर्ने पाराले विवरण अवगत गराउँदा श्री बडाहाकिमले पनि त्यतिबेलाको वातावरणलाई अनुमान गरेर 'क्रान्तिलाई स्वागत छ' भन्ने आशय व्यक्त गर्नु भएको खबरसाथ श्री रघुवीर बुढाथोकीज्यू फर्कनु भयो ।
यता राणाशाही हटी, नेपाली कांग्रेसका कब्जामा आएका क्षेत्रको प्रशासनिक व्यवस्था मिलाउनु अनिवार्य हुन आयो । लिबरेसन आर्मीका अफिसरहरू हेडक्वाटरबाट बाहिर निस्कन थाले । गाउँ देहातमा आफू आफूलाई प्रायः सबैले 'जनरल' घोषित गर्न लागे । क्रान्ति सन्चालनका निम्ति संकलन गराएको थोर बहुत आय रकम आफूखुसी हुन थाल्यो । झण्डै झण्डै अनियन्त्रित अवस्था सुरु हुन लागेको महसुस भयो । जथाभावि गर्न खोज्नेहरूमा हतियारबन्द व्यक्तिनै पहिलो पंक्तिमा देखिने अउन थाले । प्रशासनिक व्यवस्था सबभन्दा पहिले लिवरेसन आर्मीको व्यवस्थित रूपले व्यारेक कायम गरी आर्थिक चाँजो मिलाई नियन्त्रित रूपमा राख्नुपर्ने स्थितिको महसुस भयो । र कसले अह्ननखटन गर्ने इत्यादि विषयलाई लिएर झापा र इलामका जनता भेला हुन सुविधा पर्ने ठाउँ झापाको शनिश्चरे बजारमा आमसभा बोलाइयो ।
सभाको सभापतित्व सायद कप्तान श्री गञ्जबहादुर कार्कीज्यूले गर्नुभए जस्तो लाग्दछ । सभा आरम्भ भयो । सभामा राज्य संचालन गर्ने कुरालाई लिएर श्री महानन्द सापकोटा गुरुले भन्नुभयो 'क्रान्तिद्वारा राणा पल्टाइयो । क्रान्तिकारीहरूका हातमा शासन आयो । अब हाम्रो पहिलो काम, आफ्ना नियन्त्रणमा आएको क्षेत्रमा अमनचैन कायम राख्न जनताको दैनिक व्यवहार सुचारु रूपले संचालन नरोकिने गरी प्रशासनिक इकाईहरूको स्थापना गर्नलाई सर्वप्रथम नेपाली कांग्रेसले 'सामयिक सरकार' को स्थापना गर्नु पर्ने छ । र त्यो सरकारले राज्य संचालन गर्ने आफ्नो मूल नीतिको घोषणा-पत्र जारी गर्दछ । अनि त्यो सरकारले पार्टीको नीति अनुरूप घोषणा-पत्रको आधारमा अगाडिको कार्यक्रम बनाउदै संचालन गर्दै लाने छ' भनेर आफ्नो कुरा टुंग्याउनु भयो । उहाँका पछि श्री भैरवप्रसाद आचार्य, श्री धर्मप्रसाद ढकाल, श्री नरेन्द्रनाथ बास्तोला, श्री फत्यबहादुर बुढाथोकी, श्री बी. बी. चेमजोङ, श्री मानबहादुर रन्जितकार आदि धेरै नेताहरूले क्रमशः आफ्नो आफ्नो मन्तव्य दिइसक्नु भएपछि विचारमा मत विभिन्नता नआई मतैक्य भएकोले सरकारको गठन गर्ने निधो भयो र राज्य प्रमुखको निर्वाचन गर्ने कार्यक्रम थालियो ।
सभाले बैठकको रूप लियो, निकै लामो समयको छलफल, वाद विवाद पाछि सभामा भेला भएका कांग्रेसी, गैर कांग्रेसी सबैको सर्वसम्मति हस्ताक्षरद्वारा क्रान्ति संचालक श्री भैरवप्रसाद आचार्यलाई नेपाली कांग्रेसद्वारा सन्चालित क्रान्तिका क्रान्तिकारी लिबरेसन आर्मीको मिलिटरी गर्भनर जनरल (सैनिक शासक) को उपाधि अर्पण गर्यो र गठित राज्यप्रमुख पनि घोषित गर्यो ।
त्यति भएपछि फूल माला पहिराए उप्रान्त सैनिक शासक श्री भैरवप्रसाद आचार्यले - नेपाली कांग्रेसका नियन्त्रणमा आइसकेको र पछि कब्जा हुन आउने क्षेत्रमा समेत राज्य व्यवस्था मिलाउन 'नेपाल प्रजातन्त्र सामुयिक सरकार को गठन गर्ने घोषणा गर्नुभयो । घोषणा पछि 'नेपाल प्रजातन्त्र सामयिक सरकार को गठन निम्न प्रकारले गर्यो र तत्कालै कार्यविभाजन पनि निम्न प्रकारले गयो । (प्रमाणपत्रको प्रतिलिपिको आधारमा)
श्री नेपाल प्रजातन्त्र सामयिक सरकार झापा र इलामका मुक्त क्षेत्रका जनप्रतिनिधिद्वारा सामयिक सरकार संचानलका निम्ति नियुक्त भएको म श्री भैरवप्रसाद आचार्यले तपाईं निम्न लिखित सज्जनहरूलाई सो शासन संचानलका निमित्त तपाईंहरूका रायबाट कार्य विभाजन गरी सन्चालक मण्डलमा नियुक्त गरें । तपाईहरूले यो कार्य सन्चालन मा देशको हित सामु राखी मलाई हर तरहबाट सहायता सल्लाहसाथ योग्यता पूर्वक काम चलाई दिनुहोला भन्ने पूर्ण आशा राख्तछु । तपाईंहरू र अरू जनप्रतिनिधिले विश्वास गरी यो महान कार्यभार सुम्पेकोमा तपाईंहरूलाई कृतज्ञता जनाउँदै पूर्ण सहयोगको आशा राख्तछु ।