लेखिएको मिति - वि.सं. २०४९ असार ०३

यस इच्छापत्रमा स्व. श्री देवीप्रसाद उप्रेतीज्यूले समाज, शिक्षा र धर्मका लागि दान गरिएको सम्पत्तिहरूको संरक्षण र व्यवस्थापनका मार्गदर्शनहरू समावेश गर्नुभएको छ।

इच्छापत्र

लिखितम चिन्तामणिको नाती रविलालको छोरा पुर्व पल्लोकिराँत जि ल्ला तेह्रथुम आठराई इवा गा. वि. स. को सिमले गाउँ जन्मघर भई झापा जिल्ला घैलाडुबा गा. वि. स. वा. नं ६ बस्ने बर्ष ८० को म देवीप्रसाद उप्रेती विभिन्न रोगहरूले गर्दा उपचारार्थ काठमाण्डौ आई अस्पतालमा उपचार गराईरहेको अवस्थामा मेरो दुवै मृगौलाले काम गर्न नसक्ने भई मेरा उपचार गर्ने चिकित्सकहरूले मेरो अन्तीम अवस्थाको संकेत दिएको हुनाले अस्पतालबाट फूर्सत पाई काठमाण्डौ जिल्ला का.म.न.पा. वा. नं १० नयाँ बानेश्वर स्थीत कर्ण बहादुर भण्डारीको घरमा तपाई उपस्थीत भएसम्मका मेरा हितैषि, इष्टमित्र, नातेदार र मेरा परिवारका सदस्यहरूको रोहवरमा मेरो परिवारको आर्थिक तथा अन्य सबै अवस्थालाई दृष्टीगत गर्दै सबैको सम्यक विचार गरी परिवारको सम्बन्धमा र मेले मेरो जीवनमा गर्न चाहेर गरी रहेको तर पुरा गर्न नसकेको कामहरू र मलाई गर्न मन लागेका काम, तथा इच्छाहरू मेरो जीवनको समाप्ती पछिपनि यस इच्छापत्रमा मैले व्यक्त गरे अनुसार पूर्ण पारीदिन हुनकालागि तपाईहरू यहाँ उपस्थीत रहनु भएका र उपस्थीत हून नसकेका मेरा हितैषी इष्टमित्र, नातेदार कर कुटुम्ब र मेरो परिवारका सबै सदस्यहरूलाई हार्दिक अनुरोध गर्दै यो इच्छापत्र तयार गरी मैले तपाईहरूको रोहवरमा सहीछाप गरी दिएको छु । यो इच्छापत्र गर्दाको अवस्थामा म पूर्ण होसमा छु र यो इच्छापत्रमा लेखिएका कुराहरूको अर्थ र यसको संभावित परिणामको पूर्ण जानकारी मलाई छ । मैले यस इच्छापत्रमा व्यक्त गरेका कुराहरू मेरो परिवारका सदस्यहरू पत्नीहरू, छोरा छोरीहरू सबैले मेरो अन्तीम इच्छा ठानी पुर्ण गरून र पुरा गरेमा मेरो आत्माले शान्ति प्राप्त गर्नेछ र उनिहरूलाई सदैब मेरो आर्शिवाद रहनेछ । यस इच्छापत्रमा व्यक्त भएका कुराहरू पुरा गरीदिने, त्यसका लागि अथक परिश्रम गर्ने मेरा हितैषि इष्टमित्र, नातेदार, कर कुटुम्ब सबैलाई मेरो आत्माले आर्शिवाद दिइ रहनेछ । यो इच्छापत्रको कुरा मैले सबैको रोहबरमा पढेर सुनाईपनि दिएको छु र यसको टेप रेकडिंग पनि गरिएको छ । यस इच्छापत्रमा मैले देहाय बमोजिमको कुराहरू व्यक्त गरेको छु :

१. पारीवारिक कुरा

(क) आफ्ना कुरा

म पहाड पल्लो किराँतको हाल तेहथुम जिल्लाको इवाको सिमले गाउँमा वि. सं १९६९ सालको बैसाख १ गते जन्मी सावालक भएपछि वि. सं १९८७ मा अध्ययनको क्रममा जन्मस्थान छोडी देश विदेशको विभिन्न भागमा घुमी अनुभव बटुली झापा जिल्लामा स्थायी बसोबास गरी आफूले आर्जन गरेको जग्गा जेथा र सम्पत्तिबाट मुलुकमा शैक्षिक सांस्कृतिक र आध्यात्मिक विकासका लागि झापा जिल्लाको जम्मा जग्गा विगाहा ८५४ -१३-३ र तेह्रथुम जिल्लाको ३१९ रोपनी ८ आना १ पैसा जग्गा विभिन्न शैक्षिक धार्मिक संस्था स्थापना, संचालन गर्न दातव्य गरे गराएँ । सामाजिक कार्यका लागि मैले अहिले सम्म जे जति गरें त्यसबारे समाजले भविष्यमा लेखा जोखा राख्ने नै छ भन्ने विश्वास लिएको छु । मैले जीवनभर धेरै उतार चढाव झेलें, धेरै सुख दुःख भोगें, मेहनत र परिश्रम गरेर प्रशस्त सम्पत्तिपनि आर्जन गर्न सकें । मेरो जीवनले सम्पत्ति आर्जन गर्ने कार्यमात्र गरेन, देश समाज र गाउँले जीवनको उत्थानका लागि पर्याप्त नभएतापनि केही गर्ने कोशीस मैले गरेको छु । प्रजातन्त्रको स्थापनाका लागि २००७ सालको जनआन्दोलनमा पूर्वाञ्चल तर्फबाट सक्रिय रूपमा सम्मिलित भई प्रजातन्त्रको स्थापना पश्चात बनेको पूर्वाञ्चल स्वायत्त शासनको संचालन गर्ने मध्ये म पनि एक थिए । तत्पश्चातपनि समाजको चेतनाको विकास गर्न विभिन्न शैक्षिक संस्थाहरू खोली तिनीहरूलाई स्थायी बनाउनको लागि मैले आर्जन गरेको सम्पत्तिको प्रमुख हिस्सा दान दिन सकेकोमा मलाई सन्तोष छ । जीवनमा धेरै सुख दुःख भोगेर अव जीवनको अन्त्यतिर आइपुगेको हुनाले मैले हालसम्म गर्न नभ्याएका कुराहरू अस्पष्ट नहुन भनी मेरो चाहना यस इच्छापत्रमा व्यक्त गरिदिएको छु ।

(ख) घरायसी कुरा

  1. पारिवारिक आन्तरिक विषय भएकाले परिवारको गोपनीयताको सम्मानको कारणले यहाँ समावेश गरिएको छैन।
  2. पारिवारिक आन्तरिक विषय भएकाले परिवारको गोपनीयताको सम्मानको कारणले यहाँ समावेश गरिएको छैन।
  3. पारिवारिक आन्तरिक विषय भएकाले परिवारको गोपनीयताको सम्मानको कारणले यहाँ समावेश गरिएको छैन।
  4. मेरो सेवा गर्ने कामदार मालीराम बेसोरालाई कुवरखोदको दुई विगाहा जग्गा मेरो सेवा गरेवापत दिएको छु । मेरा सबै छोराहरूले उक्त जग्गा निज मालीरामलाई पाको गरी दिनु ।
  5. पारिवारिक आन्तरिक विषय भएकाले परिवारको गोपनीयताको सम्मानको कारणले यहाँ समावेश गरिएको छैन।
  6. मैले कन्काई क्याम्पसलाई दिन कबुल गरेको चन्दा रू. एकलाख पच्चिस हजार र मैले तिर्नु पर्ने ऋण वा दायित्व समेत तिर्नका निमित्त घैलाडुबा ६ मा र चारपानेमा रहेको घर, मिल, गोदाम र तिनले चर्चेका जग्गाबाट सबै छोराले भुक्तानि गरी बाँकी रहेको बराबर बॉडी भोगचलन गरी खानु ।
  7. मैले यस इच्छापत्रमा उल्लेख गर्न विर्सेको वा छुटेको मेरा नामको वा मैले प्राप्त गर्नु पर्ने कुनै सम्पत्ति प्राप्त भएमा, जानकारी भएमा सबै छोराहरूले बराबर बॉडी खानु ।
  8. यस इच्छापत्रमा मेरा परिवारलाई मैले दिएको जग्गा घटीबढी भएमा सो घटी वा बढी सबैले दामासाहीले बेहोरेर भएपनि निजानन्द आश्रमलाई दिएको ५-५-६ जग्गाको परिमाणमा भने नघटाई सो आश्रमलाई हुनेछ ।

२. मैले गर्न थालेको तर पुरा नभएको कामहरू बारे ।

मैले तेह्रथुम, इलाम र झापा गरी तीन जिल्लाहरूमा मेरो जीवनकालमा स्थापना गरेका जग्गा दान दिएका शैक्षिक तथा धार्मिक संस्थाहरू उत्तरोत्तर दृढ र सम्पन्न हुँदै जाउन भन्ने मेरो जीवनको मूल ध्येय रहेको र त्यसका निमित्त मैले धेरै वर्ष अगाडिदेखि निश्चित योजना बनाई श्री ५, श्री ५ को सरकार समक्ष बराबर प्रयत्न गर्दै आएको थिए । सो को निमित्त मैले दानपत्रमा उल्लेख गरे बमोजिमका शर्तहरू अनुरूप उक्त संस्थाहरू संचालन र व्यवस्थापन व्यवस्थापन गर्नका लागि मेरो प्रतिनिधि समेत रहेको द्रष्टबोर्ड गठन गर्न र सो सो व्यवस्था सम्बन्धित ऐनमा समाबेश गर्नका लागि बर्तमान प्रजातान्त्रिक सरकारले बचन समेत दिई कार्य गरिरहेको छ । सो कार्यलाई मेरा हितैषि तपाई इष्टमित्र, नातेदार, कुटुम्ब र तिमी छोरा छोरीहरू सबैले मेरो प्रयत्न र ध्येयलाई बुझि सो कार्य सफल नहुन्जेलसम्म प्रयत्न गरी दिनु र पुरा भएपछि मेरो इच्छानुरूपको ट्रष्टबोर्डमा बसी सो संस्थाहरूको हित हुने गरी संचालन गर्न सहयोग गर्नु । श्री ५ को सरकारले माँगे बमोजिम उपरोक्त द्रष्टका निमित्त प्रधानमन्त्रीलाई पेश गरेको नामावली अनुसार ट्रष्टको पदाधिकारी वा सदस्यको रूपमा काम गर्नु ।

३. मैले हालमा गर्न चाहेको कुरा बारे

माथि खण्ड २ मा लेखिएको कुराका अतिरिक्त देशको आर्थिक सामाजिक तथा सांस्कृतिक अवस्थाको समेत विकास गर्ने कुरामा मेरा सम्पत्तिबाट समेत केही योगदान पुगोस भन्ने हेतुले मेरो जन्मस्थल तेह्रथुमको आठराइको सिमलेको जन्म घरमा कार्यालय रहने गरी श्री निजानन्द आश्रम नामको संस्था विधिवत दर्ता गरी स्थापना गरी संचालन गराई दिनु । सो संस्थाले निम्नलिखित उद्देश्य राखी काम गरोस् :

  1. आयमूलक काम गरी अधिकतम कृषक तथा श्रमिकहरूलाई रोजगार दिने तथा शीप विकास गर्ने,
  2. शैक्षिक विकासका निमित्त उपयुक्त कार्यक्रम गर्ने,
  3. मेरो जन्मस्थानमा विज्ञान शिक्षाको सन्र्दभमा उपयुक्त कार्यक्रम बनाई लागू गर्ने,
  4. राजनैतिक उद्देश्य रहित धार्मिक, सांस्कृतिक उत्थानका लागि उपयुक्त कार्यक्रम संचालन गर्ने,
  5. पुस्तकालय संचालन गर्ने ।
  6. सहकारी कार्यक्रम संचालन गर्ने ।

माथि उल्लेखित उद्देश्यको प्राप्तिको लागि आश्रमले निम्न लिखित श्रोतहरूबाट समेत आय आर्जन गरोस् :

  1. मेरो नाममा रहेको झापा जिल्ला घैलाडुबा गा. वि. स. अन्तरगत दुर्गापुरमा रहेको घर बसोबास हूने जग्गा १० - ५-६ मध्ये परिवारका सदस्यहरूलाई दिई बाँकी रहेको ५ -५-६ पाँच विगाहा पाँच कठ्ठा छ धुर जग्गा बेच विखन गरी प्राप्त हुन आएको रकम,
  2. आश्रमले आयमूलक कार्यहरू जस्तै छापाखाना संचालन, पशुपालन तथा कृषि जन्य उद्योग लगायत गरी त्यसबाट प्राप्त आय,
  3. अन्य चन्दा, दान दातव्य, अनुदानको रूपमा प्राप्त हुने आय,

उक्त निजानन्द आश्रमको संचालन मेरा सन्तान छोरा छोरीले आफूहरू र सम्बन्धित विषयका विशेषज्ञहरू समेत समावेश भएको एक संचालक बोर्डद्वारा संचालन गर्नु । कुनैपनि अवस्थामा मेरो सन्तान दर सन्तानले मेले यस आश्रमलाई र अन्य धार्मिक र शैक्षिक संस्थाहरूलाई दिएको सम्पत्ति हिनामिना नगर्नु, मासी नखानु र अरू कसैलाई पनि नास्न मास्न नदिई संस्थाको हित र काममा प्रयोग गर्ने गराउने कुरामा दत्तचित्त भएर लाग्नु ।

४. कन्काई क्याम्पसलाई दिएको दान बारे ।

मैले कन्काई क्याम्पसलाई दिन कबुल गरेको रकम रू १,२५,००० एक लाख पच्चिस हजारको सम्बन्धमा केही शर्तहरू राखेको छु जस्लाई क्याम्पसले पालना गर्ने बचनबद्धताका साथ उक्त दान स्वीकार गरोस् । मैले प्रदान गरेको रकम अक्षयकोषको रूपमा राखी त्यसको व्याजको प्रयोग मात्र क्याम्पसको काममा गरियोस् र साँवा कुने पनि हालतमा खर्च नगरियोस भन्ने नै मेरो शर्त हो ।

अन्तमा, यो इच्छापत्र गर्दा उपस्थित भई सहयोग गर्ने सबैलाई धन्यबाद छ । मेरो जीवनमा मलाई सहयोग गर्ने अरू मैले अहिले नसम्झेका सबै सहयोगी इष्टमित्र, कुटुम्ब, नातेदार, दाजुभाई, एवं अन्य सबै शुभेच्छक प्रति आफ्नो आभार प्रकट गर्दछु । मेरो जीवनमा चेतना जागृत गरी सबैले मलाई सफल पार्न गरेको योगदानको स्मरण गर्दै धन्यबाद व्यक्त गर्दछु । मेरो जीवनमा चेतना जागृत गरी पथ प्रदर्शन गर्ने सर्वश्री पूर्ण बहादुर मानव, गुरु महानन्द सापकोटा, गुरु मदन कुमार थापा, जनकवि गोकुलप्रसाद जोशीलाई सम्मान र श्रद्धाका साथ स्मरण गर्दछु ।

रोहबर

श्रीमती नर्वदा उप्रेती - १

डिल्लीप्रसाद उप्रेती - १ (सुरूङ्गा गा.वि.स. वा.नं ५, झापा)

दुर्गाप्रसाद उप्रेती - १ (भद्रपुर १४, झापा)

सुश्री बन्दना उप्रेती - १ (भद्रपुर १४)

श्रीमती सविता उप्रेती - १ (भद्रपुर १०, झापा)

श्रीमती हेमन्तीका प्रसाई - १ (हाल हाँडीगाउँ का.म.न.पा. ५)

डा. भिष्म राज प्रसाई - १ (हाल क १।४७ कुपण्डोल ल.पु.)

डा. देबेन्द्र क्षेत्री - १ (प्राध्यापक आवास गृह नं १ त्रि.वि.वि., कीर्तिपुर)

डा. बासुदेव उप्रेती - १ (हाल सानेपा, चक्रपथ ल.पु. वा.नं २ (ज))

श्री प्रसाद प्रसाई - १ (हाँडीगाउँ पञ्चैधारा, काठमाडौ वडा समिति ५)

जनकप्रसाद हुमागाई - १ (बल्थली गा.वि.स. वडा नं ५ काभ्रेपलाञ्चोक, नेपाल)

गङ्गाप्रसाद उप्रेती - १ (तेह्रथुम इवा गा.वि.स. घर भई हाल: १-२-१०२ गैरीधारा टङ्गाल, काठमाडौं)

इति सम्वत २०४९ साल आषाढ ३ गते रोज ४ शुभम्