समाजसेवा भनेको एउटा पवित्र धार्मिक कृत्य हो ।
(पूर्वाञ्चल भेगतिर देवीप्रसाद उप्रेतीको नाम सुन्न सजिलो पर्छ । खासगरी शिक्षण संस्थासंग सम्बन्धित र त्यसतर्फ दिलचस्पी राख्ने कुनैपनि व्यक्तिले उहाँलाई तारिफ गरेको सुनिन्छ । अहिलेसम्म उहाँले २९ वटा जति शिक्षण संस्थालाई निक्कै सहयोग प्रदान गर्नु भएको छ । मेची र कोशी अञ्चलका ती संस्थालाई नगद र जग्गा जमीनबाट प्रोत्साहन दिने श्री उप्रेतीले अन्य सामामजिक संघ सस्थालाई सहयोग गरेका पनि धमाधम प्रमाण फेला पर्दैछन् । समाजसेवाका क्षेत्रमा देवीप्रसाद उप्रेतीको नाम प्रेरणा र जागरणको प्रतिक नै भएको छ । उहाँको जीवन समाजसेवाको उदाहरण हो ।
उहाँले झापा, इलाम र तेह्रथुमका शिक्षण संस्थाहरूलाई ८५४ बिघा झापा जिल्लामा रहेको जग्गा दानस्वरुप दिनुभएको छ भने तेह्रथुम र झापाका शिक्षण संस्थालाई ३ लाख ५४ हजार रूपैयाँ चन्दा दिइसक्नुभएको छ । उहाँ र उहाँका परिवारमा रहेका पहाडका जग्गा (तेह्रथुमको जग्गा) ३१९ रोपनी पनि दानकै रूपमा शैक्षिक विकासमा प्रदान भैसकेका छन् । त्यस्तै त्यस ठाउँका विभिन्न धार्मिक संस्थाहरूलाई पनि उहाँबाट यथेष्ट सहयोग भएका छन् ।
हाम्रा समस्त बन्धुबान्धव शतप्रतिशत साक्षर गराउन र युवा पुस्तालाई रोजगारमूलक शीप, शिक्षा दिलाउने विशेष इच्छा रहेको बताउने श्री उप्रेतीको मन पर्ने विषय वस्तु चाहि लेख्नु, पढ्नु र ढकमक्क फुलेको फूलबारी हेर्नु मानिन्छ । झूटो कुरा गर्ने मान्छेबाट अलग्गै बस्न रूचाउने उहाँ व्यवहारमा सरल, मृदु र मिष्टभाषी हुनुहुन्छ ।
श्री देवीप्रसाद उप्रेतीको जन्म वि.सं १९६९ बैशाख १ गते ब्राह्म मुहूर्तमा उषासंगै कोशी अञ्चल तेह्रथुमको ईवा गिा. व. स. सिम्लेमा भएको हो । उहाँले काठमाडौको रानीपोखरी श्रेस्ता पाठशालाबाट निजामति प्रथम परीक्षा उतीर्ण गर्नुभएको छ । श्रीमती, आठ छोरा र चार छोरीको संयुक्त परिवारमा रहेका उहाँ शिक्षा विकासका लागि निरन्तर खट्नु, चिन्तन गर्नु र असहाय, निर्धनको सेवा गर्नु नै जीवनको पहिलो प्राथमिकता मान्दै यसमा समर्पित हुन मन पराउनुभएको देखिन्छ ।
शिक्षण संस्थामा उहाँबाट भएको लागनीलाई भुल्न नसकेर सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्का सदस्य डा. तारानाथ शर्मा र म (उपकार कोष प्रबन्ध समितिको सदस्य तथा उपकारको कार्यकारी सम्पादक नरेन्द्रराज प्रसाई) उहाँलाई भेट्न झापाको घैलाडुबा स्थित उहाँको निवासस्थानमा २०४४ पुस १९ गते गई उहाँसंग लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरिएको छ ।)
समाज सेवाका विराट् फाँटमा के के गर्नुभएको छ ?
१. प्रवासकालमा दार्जीलिङ भारतमा स्व. पूर्णबहादुर मानव (पछि राजसभासद) को प्रधान अध्यापकत्वमा, नेपालमा शिक्षाको प्रबन्ध नभएका क्षेत्रमा विद्यार्थीहरूलाई विक्रम सम्वत् १९९९ सालदेखि २००७ सालतक ९ वर्ष जति, शिक्षा दिलाउने कामको चाँजो मिलाइयो, शिक्षा दिलाइयो ।
२. २००७ सालको राजनीतिक परिवर्तन पछि स्व महानन्द सापकोटा गुरुजीको राय मुताविक शिक्षण संस्था संचालन गर्ने र गाउँ पञ्चायतको गठन गर्ने अभिभारा मलाई सुम्पिएकोले झापा, इलाम र आठराईमा शिक्षाको विस्तार गर्ने रूपरेखासम्म तयार भयो । अनि प्राथमिक विद्यालयहरूको सुरुवात पनि झापा र इलाममा गराइयो । २००७ साल माघ १५ गतेदेखि झापा जिल्लामा १० गाउँ पञ्चायतहरूको स्थापना गराइयो ।
३. २००७ सालको जनक्रान्तिमा बिचल्लीमा परेका १० हजार जति जनताको बसोबासका लागि कुकाठको जंगल फंडानी गराएर बुधबारे भन्ने नयाँ मौजा कायम गरी १६५० बिघा जग्गामा प्रति परिवार ५ बिघाको दरले खाने रासन, कुटो कोदालो, बनचरो, खुर्पा, फरुवा आदि विना मूल्यमा दिएर दिलाएर ३३० घर बसोबास गराइयो । अहिलेको बुधबारे गा. वि. स. त्यही शरणार्थी - निवास गाउँ हो ।
४. २००८ सालको विजया दशमीका दिन स्व. महानन्द सापकोटा गुरुजीका अध्यक्षतामा काठमाडौको पुतली सडकको एउटा घरको तलामाथि स्व. पूर्णबहादुर मानव, देवीप्रसाद उप्रेती ( म आफू) समेतबाट थालनी गरिएको नेपाली भाषा प्रचारक संघको कार्य अघि बढाउने क्रममा स्व. श्री ५ त्रिभुवनबाट दर्शनभेट बक्सी, प्रफुल्ल हृदयले निर्देशनसाथ प्रोत्साहनकोरूपमा रु १२०००| (बाह्र हजार) बक्स भै शुभारम्भ भएको संस्था, इलाम जिल्लाको करीब ६ हजार फुट उचाईको करफोक डांडामा स्थापित गरियो । सो संस्था कार्य संचालन हुँदै जाँदा अर्को दुई वर्षपछि तत्कालीन युवराजधिराज (स्व. श्री ५ महेन्द्र ) बाट, नेपालभित्र र बाहिरका प्रायः तमाम कविहरूको सम्मेलनका माझ, उक्त संस्थाको उद्घाटन गरिबक्स्यो । महान उद्देश्य बोकेर उभिएको सो संस्थाले चिताए जति उन्नति र प्रगति गर्न सकेन । भाषाविद स्व. महानन्द गुरुजीको सहयोगीको रूपमा केही समयसम्म उक्त संस्थामा रही, नेपाली भाषा प्रचारको लागि काम गरें । पछि नेपाली भाषा प्रचारक संघ, अल्पकालमा नै निकै काम गरेर विलीन भयो र अहिले अवशेष स्वरूप स्मृति चिन्ह सन्ततिको रूपमा हाल सो ठाउँमा श्री करफोक विद्या मन्दिर मा. वि. कायम छ । स्वामी श्री स्व. सोमेश्वरानन्दको जेथा मध्ये करफोक डांडा खोलाको छिमेकीले मिचेर बाँकी रहेको अनुमानित ३०० रोपनी दर्ता तिरोको जग्गा श्री करफोक विद्यामन्दिरले पाइरहेछ । एक वर्षमा ६० । ७० हजार रुपैयाको आय सो विद्यामन्दिरले प्राप्त गर्दैछ । त्यसै महायज्ञमा मैले पनि थोरै चरू झापा जिल्ला सुरूंगा गा. पं को ३० विघा जग्गा हवन गरेको छु । तर अझै उद्देश्यनुकूल कानूनी व्यवस्था मिलाउन सकेको छुइन । स्वामी श्री स्व. सोमेश्वरानन्दको निवास गृह महात्माहरूको समाधि आदि स्मारकको जगेरा गर्नु नितान्त आवश्यक छ । मरम्मत, सम्भार भएको छैन ।
शिक्षा विकासमा काम गर्दा कति दुःख भोग्नु भयो ?
काम गर्दा सामाजिक सेवा कार्यमा स्वभावतः दुःख हुन्छ नै तर २००७ साल पछिको स्वतन्त्र वातावरणले शिक्षा सम्बन्धी काम गर्न उत्साह र प्रेरणा प्रदान गरेकोले खुशियालीका साथ म आफ्नो कर्तव्य कर्म गरिरहेको छु भन्ने भावनाले मलाई आजसम्म आत्मसन्तुष्टि भइरहेको छ । यसो त आठराईको पोखरी हाई स्कूल निर्माण कालमा प्रगति र शिक्षाविरोधी तत्वले दुई पटक विद्यालय भवनमा आगो लगाई नष्ट गरिदिए र पनि हतोत्साह भइएन । लाखौं खर्च लगाएर आफूले प्रारम्भ गरेको जग्गामा स्थानीय उन्नाइस सुब्बा वाईस सुब्बा (जिम्मवाल) र छ थरी (तालुकदार) मिलेको समूहले छ बण्डा लगाएर पहाडी इलाकामा यस किसिमको यति ठूलो विद्यालय अन्यत्र सायदै बनेको होला ।
समाज सेवाको विषयमा काम गर्दै जाँदा कार्यक्रम अथवा योजना तर्जुमा या सहयोगमा केही अपुग खट्किएको महसुस छ ?
अपुग र अप्ठ्यारो त कति हो कति मधेशको कुरा विद्यालय चाहियो भनेर महसुस गरियो, सहयोगी साथि पाइयो, शिक्षक छैन । खोज्नु पर्छ भारतमा । विद्यार्थी विद्यालयमा आउन मान्दैनन् । विद्यार्थीलाई प्रतिदिन मिठाई बाँडेर पल्काउनुपर्छ । त्यति मात्र होइन, विद्यालय निःशुल्क चलाउनु पर्छ । शुल्क तिर्ने त कुरै उठाउनु भएन । केही सुरतले विद्यालय चालू गर्न शुरु गरियो, शिक्षा सम्बन्धी विधि विधान केही पनि थिएन । आफूले जे जस्तो जानियो, जे जस्तो बुद्धि विवेकमा आयो त्यत्तिकै भरमा विद्यालयहरूमा संचालक समिति गठन गरियो । मबाट जग्गा दान पाउने उनन्तीस शिक्षण संस्थाका झापा जिल्लामा रहेका जग्गा जमीन चलाउन, आयस्ता उठाउन उत्तरदायित्व विहीन हाम्रो अधिकांश समाज भइदिएकोले ज्यादै अप्ठ्यारो पर्यो र संस्थागत व्यवस्था मिलाउनु बाञ्छनीय हुन आयो । शिक्षण संस्थाका जग्गा जमीनको चाँजो मिलाउन, तत् तत् संस्थाका प्रतिनिधि भएको एउटा संयुक्त स्कूल समिति नामक संस्था कायम गरी २०२० देखि २०२९ सालसम्म (नयाँ शिक्षा योजना लागू नभएसम्म) जग्गाको आयस्ता उठाई मालपोत तिरी प्रत्येक शिक्षण संस्थालाई जग्गाको आयस्ता सालसालै बाड्ने गरिएको थियो । नयाँ शिक्षा योजना लागू भएपछि संयुक्त स्कूल समिति नामक संस्था स्वतः विघटन भयो । श्री ५ को सरकारले विद्यालय संचालनको अभिभारा र विद्यालयको जग्गा जेथा आफ्ना अधिकारमा लियो । त्यसपछि शिक्षण संस्थाका जग्गाजेथाको आयस्ता हिनामिना हुन लाग्यो । कागतपत्र बेपत्ता भए ।
त्यस पछि २०३३ सालदेखि तेह्रथुम जिल्लाको १५ विद्यालयहरूको झापा जिल्लाको नम्बरी ४२५ बिघा जग्गा समेत चलाउन तेह्रथुम जिल्ला शिक्षा समितिद्वारा शिक्षण संस्थाको जग्गा व्यवस्था प्रतिनिधि नियुक्त गरेपछि अहिलेसम्म व्यवस्थित रूपले आयस्ता संकलन भइसकेको छ ।
झापा जिल्ला र इलाम जिल्लाका शिक्षण संस्था १४ को, झापा जिल्लामा रहेका जग्गाको आयस्ता अझै व्यवस्थित रूपले संकलन हुन सकिरहेको छैन । कार्यवाहीको अंग पुगेको ११३ बिघा आवादी जग्गा अझै दर्ता हुन बाँकी छ । आयस्ता कसैले खाइरहेछ, विद्यालयले पाउँदैन । माफी बिर्ता पाए जत्तिकै छ । मालपोत विद्यालयहरूले नतिरेरै अहिलेसम्म थेगेको छ । जग्गा व्यवस्था प्रतिनिधि नराखिएकोले काममा हेलचक्रयाई बढेर गएको मैले महसुस गरेको छु ।
अधिराज्य भरिका दान प्राप्त गर्ने शिक्षण संस्थाको जग्गा जेथाको व्यवस्था मिलाउन छुट्टै कानूनको आवश्यकता महसुस हुन आयो । विशेष गरेर श्री ५ को सरकारले अर्थ विभाग मातहतको सम्पत्ती राजस्वलाई जुन दृष्टिकोणले सुरक्षित राख्ने नियम कानून छ शिक्षा विभाग मातहतको सम्पत्तीलाई त्यसै दृष्टिकोणले हेरिने नियम, कानून भइदिएन । राजस्व हिनामना गर्ने व्यक्तिलाई जब प्रहरीद्वारा ठाडै पक्राउ गरी असुल उपर गरिन्छ ( गरिनुपर्छ) भने शिक्षा विभाग मताहतको सम्पत्ती हिनामिना गर्ने व्यक्तिलाई व्यक्ति व्यक्तिको सम्पत्ति भै कार्यवाही गरी माग्न अदालतको शरणमा जानुपर्ने हुन्छ । फिस तिरेर निजी वकिल राख्नुपर्छ । प्रधानाध्यापक वा क्याम्पस प्रमुखले दायाँ बाँया ल्याप्चे सहीछाप गरेर वारेस दिनुपर्छ वा आफैले तारिखमा बस्नुपर्छ । अध्यापन गर्नु कि अदालतमा तारिखमा जानु ? शिक्षण संस्थाको सम्पत्ती यति अपहेलित किन ? यी सब कुराले अधिराज्यभरिका शिक्षण संस्थाका जग्गा जमीनका सम्बन्धमा अप्ठ्यारो परेजस्तै माथि उल्लेखित दान प्राप्त गर्ने उनन्तीस शिक्षण संस्थालाई पनि पिरलो पयो । आफूले दान स्वरूप दिएको सम्पत्ती हिनामिना भएको देख्दा मलाई अझ बढ्ता पीर लागेको छ ।
यहाँको विचारमा समाजसेवा कस्तो हुनुपर्छ ?
मेरो विचारमा समाजसेवा गर्न इच्छुक व्यक्तिको जीवनक्रममा सामाजिक कामले प्राथमिक र व्यक्तिगत कामले द्वितीय स्थान पाउनु श्रेष्ठतर र हितकर हुन्छ ।
यहाँ यस क्षेत्रमा यसरी योगदान दिदै हुनुहुन्छ, यसको मूल कारण के हो ?
मेरा विचारमा शिक्षाको वा सामाजिक क्षेत्रमा योगदान दिनुको कुनै पनि कारण हुन सक्तैन । हृदयको बनोट नै त्यस्तै हुन्छ होला फरक किसिमको । अनि, वातावरणको प्रभाव पनि पर्न सक्दो हो । यस्ता कामको लागि उपलब्धि खोज्नु मूर्खतापूर्ण हुन्छ । जसले यस्तो कामको कारण खोज्छ वा बताउँछ ती निजी स्वार्थान्ध पीडित हुन सक्लान् जस्तो मलाई लाग्छ ।
मरूभूमिमा एउटा मात्र वृक्ष छ भने छाया त हुन्छ नै तर त्यसले आम जनतालई कल्याण पुग्न सकोइन । आम जनताको कल्याणका लागि त यो मरुभूमिमा हरियाली छाउने व्यवस्था हुनु पर्दो हो । मगन्तालाई दिनु समस्या समाधान होइन, बरू समस्या मात्र बढाउनु हो । भगवान् बुद्धले दुःखको कारण पत्ता लागाउनु भए झै हरेक व्यक्तिलाई आँखा देखाउन (उघारिदिन) सक्यो भने दुःको कारण उसले आँफै बुझ्न सक्छ । दुःख पाउनुको कारण ठम्याउन सक्छ । त्यसो हुनाले शिक्षाको उज्यालो उज्यालो ज्योतिद्वारा तमाम बन्धुबान्धवको आँखा खोल्नु परम कर्तव्य सम्झेर शिक्षा दिलाउने तर्फ दिलचस्पी लिएको हुँ । फलको आशा नराखेर कर्म गर्नु (कार्य गर्नु) भनेर हामीलाई हाम्रो हिन्दू धर्मशास्त्रले बताए सिकाए अनुसार काम गर्दै आएको छु ।
हाम्रो समाज कस्तो हुनुपर्ने तथ्य माथि जोड दिनुपर्छ ?
आचरण, पवित्र, विचार फराकिलो एवं रहन सहन सरल हुनुपर्ने भनेर भन्न सकिन्छ, जुन कुरा गरी पुऱ्याउन निक्कै असजिलो हुन्छ ।
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना भएदेखि संस्थागत रूपमा समाज सेवाको के कस्तो विकास भएको महसुस गर्नु भएको छ र यसमा कति सन्तुष्ट हुनुहुन्छ ?
सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को स्थापना हुनु एउटा उत्तम कुरा हो । यसबाट म जस्ता लाखौंलाख व्यक्ति संतुष्ट छन् । देवतै देवताले भरिएको हाम्रो देश नेपालमा हजारैं देव-मन्दिर गुठी आदि संस्थान छन् । देशमा अधिकृत संघ संस्था मन्दिर बिहार आदि के कति छन् त्यसको सूचनामा उल्लेख भएको देख्न पाउनुपर्ने महसूस गरेको छु । राजमहिषी श्री ५ बडामहारानी सरकारको प्रत्यक्ष नेतृत्व तथा अध्यक्षता प्राप्त सामाजिक सेवा संस्थागत रूपले थालनी भएको हुनाले क्रमश: देशव्यापी हुँदै फैलिदै जाला भन्ने आशा मात्र होइन विश्वास पनि लिएको छु ।
के धनका असम्पन्न व्यक्तिहरुबाट पनि समाजसेवाको अपेक्षा गर्नुहुन्छ ?
समाज सेवा भन्ने बित्तिकै सेवा शब्दले धन सम्पत्तीलाई इङ्गित गरे जस्तो लाग्दैन । मन जसको जति चौडा र फराकिलो छ, त्यसले त्यत्रि नै बढी मात्रामा समाज सेवामा मन पुऱ्याउन समर्थ हुन्छ जस्तो मलाई लाग्छ ।
यहाँलाई अभिव्यक्त गर्न मन लागेका अरू विषय केही भए ?
जन्मेपछि नामाकरण एक पटक हुन्छ । विद्यालयको पनि जन्मकालमा एकपल्ट न्वारन हुन्छ र नामकरण गरिन्छ । त्यो बदल्ने चलन राम्रो पनि होइन र हितकर पनि हुँदैन । त्यस्तो बानी बसाल्नाले आस्था र विश्वासको ह्रास हुने गर्छ, कीर्ति लोप हुने हुन्छ । अत: स्थापनाकाल अथवा जन्मकालमा राखिएको विद्यालय वा धार्मिक देव मन्दिर विहार आदिको नाम बदल्न नहुने कानूनी व्यवस्था हुनु पर्ने हो । ।
समाज सेवा भनेको एउटा पवित्र धार्मिक कृत्य हो । यसको आफ्नै पवित्र र व्यापक क्षेत्र हुन्छ । मानवता यसलाई जोड्ने तन्तु हो । सभाज सेवीलाई सामान्य रूपले कर्मचारीकरण गरिइनु हुन्न, उसको आफ्नै संसार हुन्छ र निष्काम उसको भावना हुन्छ र हुनु पनि पर्छ ।