मेरो जिन्दगीमा टाँस्सिएका देवीप्रसाद उप्रेती - भवानी घिमिरे

भवानी घिमिरे
भवानी घिमिरे

अनेक चित्रहरू सलवलाउँछन् मनमा यस घडी । जिन्दगीको मेला कति व्यक्ति आए गए, इन्तुचिन्तु केही भएन । कतिले चाहिं जिन्दगीलाई अलिकति छोएर गए, छोए मात्र । कति चाहिं टाँसिएका छन् जिन्दगीमा, ती सायद जीवन पर्यन्त टाँसिन्छन् । यसरी जीवन पर्यन्त टॉसिनेमा एकजना हुन् देवीप्रसाद उप्रेती । देवीप्रसाद ठूला विद्वान थिएनन्, उनी ठूला साहित्यकार पनि होइनन्, उनलाई अजङ्गको राजनेता पनि भन्न मिल्दैन । उनी स्वनिर्मित (Self made) मान्छे हुन् । उनी व्यवहारिक थिए त्यत्तिकै -जग्गा जमीन, जायजेथा, खेत खलियान, लेनदेन सबैथोक भएका तर निस्पृय उत्तिकै । उनलाई प्रजातन्त्र नभै भएन र राणा निरंकुशताको विरोधमा लागे, त्यसका निम्ति निर्वासन पनि भोगे दार्जीलिङमा । उनले चिताएको पुग्यो, क्रान्तिको फत्ते भयो -फत्तेबहादुर, मानबहादुर र अरू बहादुरहरू पनि थिए । क्रान्तिको नाममा कत्तिका सिलिगुडी र दार्जीलिङमा घर ठडिए तर देवीप्रसादले क्रान्तिलाई नीजी लाभमा परिणत गर्नु गरेको थाहा भएन । बरू क्रान्तिको उद्देश्य पूरा नभएकोमा खिन्न भएर उनी शिक्षा प्रचारमा पूरै संलग्न भए । करफोक विद्यामन्दिरको स्थापनाका निम्ति महानन्द र नरेन्द्र बाँस्तोलालाई सहयोग गर्न अग्रसर भए । पोखरी हाईस्कूललाई सक्तो टेवा दिएर काँध थामे । घैलाडुवा हाईस्कूल निर्माण र संचालनका निम्ति लागि परे । भद्रपुरमा मेची महाविद्यालय शुरू गर्दाको ताका म र डा. हृषीकेश उपाध्याय गएर सहयोगको माँग गर्दा हामीलाई ठूलो हौसला दिएको प्रसंग स्मरण योग्य छ ।

मेची. महाविद्यालयले पनि उनीबाट प्रशस्त टेवा पायो । उनले दिएको जग्गा अहिले मेची क्याम्पसको आयस्रोतको आधार भएको छ । देवीप्रसाद स्वाभिमानी, विचारशील र विवेकी मान्छेका रूपमा मेरो मनमा टाँसिएका छन्, टाँसिएर रहने छन् - जीवन पर्यन्त । सबैले खान लाउन र पढ्न पाउनु पर्छ भन्ने उनको धारण थियो । यही धारणाले नै घैलाडुवा स्कूलको स्थापना भएको हो । सो विद्यालयमा एस. एल. सी. सम्म निशुल्क पढ्न पाउने व्यवस्था गरिएको थियो । जग्गाको आधारमा अर्थ संकलन गरेर निशुल्क शिक्षाको व्यवस्था गर्ने पक्षमा चट्टान भै उभ्भिए देवीप्रसाद र यसको विपक्षमा थिए उनका दाजु मेदिनीप्रसाद । यो कुराले आन्दोलनको रूप लियो । भाषाण, नारा, जुलुस र पर्चाबाजी भए । म यसमा पुरै संलग्न भए र केही पश्चात नै मेरो र मदन थापाको नाममा वारेन्ट जारी भयो । म त्यतै गाउँतिर भूमिगत भएँ । यस कुराको तानातान निकै लामो समयसम्म चलिरह्यो । राजा महेन्द्रको सवारी रोकेर पनि निरीक्षण गराउने काम भयो । कसैको केही लागेन । राम्रै काम गरेको ठहरियो । देवीप्रसाद उप्रेतीजीको अग्रसरतामा यो काम सफल भयो । आफ्नो अडानमा टिक्न सक्ने जस्तै परिस्थितिमा पनि खुट्टा नलक्पकाउने र सबैसंग सरसल्लाह लिदै काम गर्ने उहाँको स्वभावको जति प्रशंशा गरे पनि थोरै हुन्छ ।

त्यस्तै कवि गोकुल जोशीका बारेमा केही गर्नुपर्छ भन्ने हाम्रो सल्लाह भयो । मैले गोकुलको सालिक घैलाडुवामा राख्नुपर्छ भनी प्रस्ताव राखेको थिएँ । प्रस्तावलाई सहर्ष स्वीकार गर्दै देवीप्रसादको प्रतिउत्तर थियो - "कुरा त राम्रो हो तर शासन व्यवस्था सान् असहिष्णु छ, प्रयत्न चाहिं गर्दै जाऊँ ।” गोकुल जोशीको प्रतिमा बनाउने निश्चय त गरियो, तर काम भन्दा कुराको खैलाबैला बढी भयो । देवीप्रसादलाई प्रशासनले समातेर लग्यो । हामी चाहिं भागाभाग पयौं ।

देवीप्रसाद, शान्त, स्थीर, स्वाभिमानी, सरल र सालिन प्रकृतिका मानिस हुन् । धनसम्पत्ति भएर पनि अहंकार थिएन उनमा । कुनै कुरा पनि विचार गरेर, गमेर बोल्ने बानी थियो उनको । हतारमा काम गर्ने अनि फुर्सतमा पछुताउने उनको स्वभाव थिएन । कवि, लेखक, साहित्यकार र विद्वान विदुषीप्रति उनमा सम्मान र आदरभाव पाइन्थ्यो । गोकुल जोशीले एक दुई सवाल जवाफ गर्दा पनि देवीप्रसाद उत्तेजित भएको मैले देखिन ।

"भानु" को प्रकाशन शुरू गर्दा होस्, घैलाडुवा स्कूलको संघर्ष कालमा होस्, गोकुल जोशीका सन्दर्भमा होस् देवीप्रसादजी मेरो मनमा सदा सदाको लागि टाँस्सिएका छन्, जीवन पर्यन्त टाँस्सिएरै रहनेछन् । झापाको जिल्ला विकास सम्मेलनमा तथाकथित व्यवस्थाबादीले म उपर शब्द प्रहार गर्दा होस्, प्रहरी, प्रशासनको डरधाक तेर्साउँदा होस् मलाई घरैमा पुगेर सान्तवना र साहस दिन्थे देवीप्रसाद । उनी दई जिब्रे थिएनन् । उनी प्रशासनका अगाडि पनि खुलस्त भन्दथे - "यत्तिका बुद्धिजीवीको कुरा सुन्नुपर्छ हामीले ।"

भोलिका सन्ततिले एकादेशको कथा हालेर भन्नेछन् "एकादेशमा देवीपसाद उप्रेती भन्ने मानिस थिए, जो आफ्नो घर फुकेर पनि स्कूल चलाउँथे, जो आस्थाका मानिसलाई श्रद्धा गर्दथे । जो समाजको बेथिति माथि घोरिएर असमर्थहरूलाई समर्थ बनाउनु पर्छ भन्थे । जो महानन्द र गोकुललाई माया गर्थे । जो सातसालको क्रान्तिका योद्धा थिए, सायत उनी आगामी क्रान्तिका उपासक पनि थिए । " ...

२०५४/१०/२७
मेरो जिन्दगीमा टाँस्सिएका देवीप्रसाद उप्रेती - भवानी घिमिरे