सभ्यता, संस्कृति, रीतिथिति, नियमहरू जुन देशले जस्तो मानेको छ त्यो नै त्यस देशको कानून हो । यसका विपरित व्यवहार भयो भने जाति मासिन्छ । यस सूत्रलाई देवीप्रसादजीले राम्ररी बुझ्नु भएको थियो । व्यवहारका प्रत्येक कोणमा भन्ने गर्नु हुन्थ्यो -
" कानून बाहिर गयो भने देशको व्यवस्था खलबलिन्छ ।”
आजको ६० बर्ष अधिदेखि उहाँले चलाउदै ल्याउनु भएको जमिन्दारी झापाको ठूला जमिन्दारीमध्ये एक थियो । जमिन्दार आफैँ कानूनबाहिर नगएपछि उहाँका रैतीहरू पनि दाँयाबाँया चटपटाउने कुरै भएन । रैती मात्र होइन बडाहाकिम कर्मचारीहरू पनि वहाँको 'कानून'सँग सतर्क हुन्थे । आठ सालको एक दिनको कुरा हो, देवीप्रसादजीका बिरुद्ध वडाहाकिमकामा उजुर परेछ । निकै अटेरी देवीप्रसादलाई ल्याएर थुन्ने वडाहाकिमले अठोट गरेर पूर्जी काटेछन् । देवीप्रसादजी आएनन् । पुनः प्रहरी पक्डिन पठाए, त्यस पटक भेटेनन् । उनी एक हप्तापछि फेला परे । थुनामा राखेर कार्वाही गर्ने वडाहाकिमको आदेश भयो । पुलिसले थुनामा राख्न लानै लागेको बेला देवीप्रसादले बडाहाकिमलाई यौटा पत्र पेश गरे । वडाहाकिमले पत्र खोलेर के पढिसकेका थिए, उनको अनुहार खङरङ्ग गलेको सबैले देखे ।
भएछ के भने देवीप्रसाद हराएको ७ दिनभित्र उनी काठमाडौं पुगेर वडाहाकिमको नाममा वरिष्ठ मन्त्री गणेशमानको यो पत्र लिएर आएका रहेछन् । यो पत्र देवीप्रसादलाई कुनै कारवाही गर्नु परे यहीं पठाइ दिनु भन्ने आशयको रहेछ ।
२००७ सालअघि गणेशमान सिंहलाई देवीप्रसादले आफूले किरायमा लिएर दार्जिलिङमा स्कूल खोलेको डेरामा निकै मैना पालेका थिए । पूर्णबहादुर मानव जस्ता देशभक्त नेपाल देश चलाउने सपुत तैयार गर्न सम्मिलित थिए । गणेशमानले त्यस बखत त्यहाँ पाएको आश्रयको गुन २००८ सालमा आफू मन्त्री भएको बखत तिर्ने मौका पाए ।
जस्तो सुकै अधिकार प्राप्त व्यक्तिसंग पनि देवीप्रसादको लत्रिने स्वभाव थिएन । प्रत्येक पाइलामा कानून देख्ने देवीप्रसादलाई २००७ साल क्रान्तिकालको प्रजातान्त्रिक स्वायत्त सामयिक सरकारको कानून र न्यायमन्त्री हामीले वहाँलाई नै छानेका थियौं । यो सरकार मेची अंचलमा नौ महिना ७ दिनसम्म कायम राख्न हामी वाध्य भएका थियौं ।
राजा त्रिभुवनले राजगद्दी छाडेपछि हामीले आफ्नो आफ्नो गद्दी छाडेर धर्मप्रसाद ढकाल, भैरवप्रसाद आचार्य, महानन्द सापकोटा, बिक्रम लामा, देवीप्रसाद उप्रेती र म, हामी ६ जना झापाको मेरो निवास कप्तानबाडीमा जम्मा भएर शीर्षस्थ बैठक गयौं क्रान्ति संगठन त हामीले २/४ मैना अघिदेखि शुरू गरेका थियौं । हाम्रो प्लान तैयार भयो । महानन्द र देवीप्रसादको आफ्नो ज्यान बचाउन मानिस नमारी नहुने स्थितिमा मात्र गोली चलाउने भन्ने सल्लाहमा हामी सहमत भयौं । समय र परिस्थिति अनुकूल रह्यो । झापामा र इलाममा गोली नचलाई प्रजातान्त्रिक सरकार घोषणा गर्न हामी सफल भयौं । यो अवस्था यस अञ्चलबाहेकका जिल्लाहरूमा कायम रहेन । अरू जिल्लाका क्रान्तिमा भाग लिने नेता र हाम्रो नेतृत्वको बीच अन्तर पनि थियो ।
२००७ साल मंसीर १७ गतेदेखि झापाका विभिन्न ठाउँमा र मंसीर २३ गतेदेखि माघ १३ गतेसम्म झापा फ्रन्ट डिल्ली गनगाईको झुप्रोमा सँगै खायौं, सँगै सुत्यौं, भविष्यको नेपालको सुन्दर सपना परतिर साम्नेमा, अर्को सपना आउनलाई एकै पलक पनि स्थान दिएनौं ।
एसरी यौटै अचानोमा शिर राखेर महिनौं बिताएका थियौं । हामीलाई यौटै डर थियो, महानन्द र देवीप्रसादको गोली नचलाउने सल्लाहको विपरीत हाम्रा जवानले गोली चलाउलान् कि भन्ने । वहाँहरूको यो सल्लाहले हाम्रो मानसिकतामा निकै परिवर्तन ल्याएको थियो ।
२००७ साल मंसीरदेखि २००८ साल भदौसम्म यस अञ्चलमा स्थापना भएको स्वायत्त सामयिक सरकारलाई राणाले बनाएका कानून पर्याप्त नभएको देवीप्रसादजीले ठान्नु भयो र सामायिक सरकारको क्याबिनेटमा पेश भएका सम्पूर्ण नियम कानून देवीप्रसादजी के मसौदा हुन् ।
सामयिक सरकारलाई आठराईमा लुटिएका हजारौ परिवार यौटा ठूलो समस्या थियो । देवीप्रसादजीले आफ्नो ठूलो जमिन्दारीमा धेरैलाई आश्रय दिनुभयो । त्यसका अतिरिक्त ३२० परिवार जो बुधवारेको १६०० बिगहामा राखिएका थिए । तिनीहरूको दैनिक व्यवहार चलाउन वहाँले देखाएको उदारता प्रशंसनीय छ । २००७ सालमा सैकडौं परिवार आसाम पनि पसे । यसलाई हामीले नेपालको ठूलो नोक्सानी ठान्यौं । यो रोक्न हामीले तराईमा जग्गा दिने निधो गर्यो । जंगलमा वसोवास गराउँदा जंगल मासिने डर थियो । त्यसैले हाम्रा खोलाहरू जसले हजारौं बिगहा जमिन ओगटेको छ, त्यसलाई साँगुराई, जति परिवार आए पनि बसाउने योजना बनायौं । देवीप्रसादजीले भन्नुभयो – “योजना बनाएर मात्र कहाँ हुन्छ र त्यसलाई व्यवहारमा कसरी र कसले ल्याउने त्यो सोच्नु पर्छ ।” त्यस्तो सोचाइअनुसार शर्णामती भन्ने ठाउँ विरिङ खोलाको वगरैतिर पैलो घर वहाँ आफैले बनाएर बस्नु भयो । त्यो अरूलाई नमूना त भयो तर हामीले तटबन्ध गर्न भ्याएनौं । वहाँ बिफल हुनु भयो । त्यै हाम्रो त्यस बेलाको विचार लिएर अहिलेसम्म कराइरहेको छु । यो ६ हजार खोलानालाको बगरमा करोडौ मानिसको I बसोवास सम्भव छ, हाम्रो २००७ सालको ९ महिने सरकारले पूरा गर्न नभ्याएका योजना अहिलेका सरकारले पूरा गरून् ।
यो बगर आवाद गर्न नसकेको झोकमा वहाँ आफै जमिन्दार छदा फूट अनारमूनी नामले खडा गरेको मौजामा १५० परिवारलाई १०/१० बिगाह जग्गा दर्ता गरिदिनु भयो । जंगल भएकाले प्राय मानिस बसेनन् तर मालपोत चै वहाँ आफैले धेरै बर्षसम्म तिरी दिदै रहनु भयो । पछि ०४२ सालमा म भूमिसुधार र वनमन्त्री भएको बेला यो जग्गामा सहकारी ढंगबाट चियाखेती गर्ने प्रस्ताव पेश गर्नु भयो । मेरो मन्त्रीकाल छोटो भएकोले यो प्रस्ताव कार्यान्वयन गर्न भ्याइएन । सकहारितामा वहाँको अटल विश्वास २००८ सालदेखि नै मैले पाएको थिएँ । सहकारीको योजना लिएर २००८ सालमा गणेशमान मन्त्री हुदाँ वहाँ हामीलाई समेत लिएर जानुभयो । सहकारीको कुरा सुन्नासाथ गणेशमानले अब यो काम सबै सरकारी स्तरमा हुन्छ भन्ने जवाफ दिनु भयो । हामी ङिच्च परेर फियौं ।
शिक्षण संस्थाहरू चलाउन वहाँले हजारौं बिगहा जमिन विभिन्न स्कूल कलेजलाई दिनु भयो । कमसेकम आफूले जग्गा दिएका स्कूलको यौटा ट्रष्ट बनाएर सम्पत्तीको सदुपयोग गराउने वहाँको महान इच्छा सफल गराउन सक्नुभएन । यो असन्तोषको भार बोकेरै वहाँको स्वर्गवास भयो । वहाँको आत्माले शान्ति पाओस् ।
