नेपालका सुपरिचित समाजसेवी स्व. देवीप्रसाद उप्रेतीको संझनामा झापा जिल्लामा रहेका उहाँका शुभचिन्तकहरुले कृति र स्मृतिमा स्व. देवीप्रसाद उप्रेती" नामक स्मृति ग्रन्थ तयार पारी प्रकाशन गर्न लागेको कुरा थाहा पाउँदा मलाई अत्यन्तै खशी लागेको छ । पूर्वाञ्चलमा रहेर मुलुकको शैक्षिक एवम् सामाजिक उत्थानमा उल्लेखनीय योगदान पुर्याउने देवीप्रसाद उप्रेतीजस्ता व्यक्तिका योगदानहरूलाई प्रकाशमा ल्याउनु र उहाँका आर्दशप्रति आउने पुस्तालाई परिचय गराई आकर्षित गराउनु निश्चय पनि एउटा उल्लेखनीय काम ठहर्छ । यस्तो कार्यमा संलग्न उक्त स्मृति ग्रन्थ प्रकाश गर्ने योजना तयारपारी सो योजनालाई कार्यान्वयन गर्न लागिपरेका यस ग्रन्थको प्रकाशन समितिका सदस्यहरूका कामको सराहना गर्दै उक्त कार्यमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
स्व. देवीप्रसाद उप्रेती ठूला भूमिपति र समाजसेवीका रूपमा आफना ठाउँमा स्थापित भएपनि उहाँ अत्यन्तै चिन्तनशील व्यक्ति पनि हुनुहुन्थ्यो । उहाँ मेरा घनिष्ठ मित्र समेत भएकोले देश र राष्ट्रका विभिन्न विषयहरूमा भेट भएका बेला हाम्रा घण्टौं छलफल हुन्थे । छलफलका क्रममा उहाँले व्यक्त गरेका विचारहरूका आधारमा मैले उहाँको चिन्तनशीलतालाई बुझ्ने मौका पाएको हुँ । नेपालको भूमि व्यवस्थापन सम्वन्धी उहाँका आफ्नै धारणा थिए । उहाँका धारणा सुन्ने जोसुकैले पनि उहाँलाई भूमि विशेषज्ञ" को रूपले चिन्दछ भन्ने मलाई लाग्छ ।
उहाँले थुप्रै शिक्षण संस्थालाई आफ्नो व्यक्तिगत जेथाबाट धेरै जग्गाहरू दान दिनुभएको छ । ती दानबाट शिक्षण संस्थाले पाएका जग्गाहरूको उचित आम्दानी सम्वन्धित संस्थाले नपाई दुरूपयोग भएको देखेर उहाँ चिन्तित हुनुहुन्थ्यो । एक पटक यही कुरालाई लिएर सरकारको ध्यान आकर्षण गराउन उहाँ काठमाडौं आउनु भएको रहेछ । त्यसबारे जानकारी गराउन मसँग पनि आउनु भएको थियो । त्यतिबेला म सरकार बाहिर थिए । त्यसबारे उक्त कार्बाही गर्न सम्वन्धित पक्षलाई मैले पनि अनुरोध गरेको थिएँ । उहाँ यस संसारमा हुनुहुन्न तर उहाँका कामहरूले सधैं स्मरणीय हुनुहुन्छ । उहाँका असल कामको सराहना गर्दै उहाँ जस्ता नेपालका सबै समाजसेवीहरूको सम्मान गर्न हामी सबैको कर्तव्य हो । उहाले सार्वजनिक संस्थालाई दिएको दान दातव्य अहिले कुन अवस्थामा छ कुन्नि, तर तिनको सदुपयोग हुने व्यवस्था मिलाउनु सबैको कर्तव्य हो । यसप्रति सबैलाई सचेत गराउदै उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना सहित उहाँप्रति हार्दिक श्रद्धाञ्जलि ज्ञापन गर्दछु ।
