जुन समाजमा निस्वार्थ राजनीतिक व्यक्तिहरू तथा समाजसेवीहरू हुन्छन् त्यो समाज निश्चय पनि सौभाग्यशाली हुन्छ । यस्ता व्यक्तिहरू जति बढी हुन्छन् त्यति समाज लाभान्वित हुन्छ । हाम्रो देशमा र त्यसमा पनि नेपाली कांग्रेसमा केही यस्ता दानवीर कर्णका साना प्रतिमूर्तिहरू थिए र छन् जसले राजनीतिका साथ साथ सामाजिक सेवामा पनि प्रशस्त धन र मन आफ्नो गच्छेअनुसार लगानी गरे र त्यसको बदलामा कसैसँग केही मागेनन् । केवल दिए मात्र र फिर्ता केही लिएनन् । यस्ता व्यक्तिहरूलाई सम्झिदा नेपाली कांग्रेसका ती कार्यकर्ता जो तिनीहरूलाई चिन्दथे, जान्दथे आज गौरवान्वित हुन्छन् । उहिलेको धनकुटा र अहिलेको तेह्रथुम जिल्लाअन्तर्गत आठराई सिमले ग्राममा जन्मनु भएका र हाल झापा जिल्लाको घैलाडुब्बामा बस्नु हुने जिम्दार देवीप्रसाद एक यस्ता महत्त्वपूर्ण समाजसेवी हुनुहुन्छ जसको आचार सम्झिदा आश्चर्य लाग्छ र बिचार बुझ्दा छक्क परिन्छ कि आमनेपाली लवजमा प्रशस्त सम्पन्न व्यक्ति भएर पनि उहाँमा कहिल्यै बडम्पन देखिएन र धनअनुसारको शौख पनि उहाँले कहिल्यै गर्नुभएन । सरल जीवनयापन गर्नुभयो । सबैसँग मीठो भाषा बोल्नुहुन्थ्यो । पहिरन पनि अत्यन्त साधारण थियो । २०२१ सालमा भूमिसुधार लागू हुँदा उहाँ पूर्वी नेपालमा अति धनाढ्य जमिन्दारहरूमा एक मानिनु हुन्थ्यो । मान्छे भन्थे कि झापामा उहाँसँग लगभग १२ सय विघा जमिन थियो । पहाडको सम्पत्ति अलग ।
वैदारदेखि "मन्त्री" सम्म
उहाँले जीवन राणाकालको बैदार जागिरबाट शुरू गर्नु भएको थियो । उहाँलाई कानूनी ज्ञान त्यहीँ हासिल भएको थियो र पछि सेवा निवृत्त भएपछि उहाँका विषयमा मानिसहरू भन्थे कि नेपाली ऐन, कानूनको उहाँलाई विशिष्ट ज्ञान छ । बैदार पदभन्दा माथि उहाँ उक्लिनु भएन र जागिर छोडेपछि झापामा उहाँ खेतीपाती गर्न थाल्नु भयो । जति कमाउनु भयो आफ्नो बाहुबल र बुद्धिबलले कमाउनु भयो । मधेशमा पैत्रिक सम्पत्ति थिएन । तर प्रशस्त कमाउनु भयो र धेरैलाई मद्दत गर्नुभयो पनि । उहाँले पढ्नमा मद्दत गरेका धेरै व्यक्तिहरू आज ठाउँठाउँमा देखिन्छन् र कोही कोही गन्यमान्य पनि छन् । उहाँले धेरैलाई धनी बनाउनु भयो यद्यपि उहाँको धनराशी घट्दै गयो । विचित्र घटना थियो त्यो ।
२००७ सालअघि उहाँ कांग्रेसमा लागेर प्रवास जानु भयो । क्रान्तिकालसम्म दार्जीलिङको रोबर्टशन रोडको उहाँको बासस्थान पूर्वको कांग्रेसको मुख्य कार्यालय सरह नै थियो । वी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा, पूर्णबहादुर मानव, ईश्वर बराल आदि जब जब राजनीतिक काममा (पूर्वी नेपालको सङ्गठनका लागि) दार्जीलिङ जानु हुन्थ्यो, सधैं उप्रेतीजीकै घरमा बस्नु हुन्थ्यो ।
सातसालको क्रान्तिमा प्रमुख भूमिका -
जनक्रान्तिमा उहाँले सक्रिय भाग लिनु भयो र क्रान्तिको तत्काल पछि भैरवप्रसाद आचार्यले झापामा जुन संक्रमणकालीन स्थानीय सरकार गठन गर्नुभएको थियो । त्यसमा श्री देवीप्रसाद उप्रेती कानूनमन्त्री हुनुहुन्थ्यो । थोरै समयपछि अन्तरिम सरकारले त्यो स्थानीय मन्त्रिपरिषद् भङ्ग गरेपछि श्री उप्रेती सामाजिक कार्यहरूमा बेसी रुची लिन थाल्नु भयो । देवीप्रसाद उप्रेतीबारे मानिसहरू भन्छन्- कि सायद उहाँ एक यस्तो व्यक्ति हुनुहुन्छ जसले राजनीतिबाट, जतिन्जेल तन, मन, धन खर्च गरेर काम गर्नु भयो कुनै सुख, सुविधा वा सम्पत्ति लिनु भएन । जे जति सक्नु भयो राजनीतिलाई दिनु भयो मात्र । रत्तिमासा केही लिनु भएन । यस्ता स्वार्थविहीन मान्छेहरू आज राजनीत्तिमा दुर्लभ हुँदैछन् । आफ्नो सम्पतिको ठूलो भाग उहाँले समाजसेवामा लगाउनु भयो । पूर्वमा त्यति दान गर्ने मान्छे सायदै अन्य कोही होलान् । झापा, इलाम र आठराईमा (तेह्रथुम र ताप्लेजुङ जिल्ला) धेरै शिक्षण संस्थाहरू आज उहाँले दान दिनुभएको भूमिको आयबाट सञ्चालित भइरहेका छन् । कैयन शिक्षण संस्थाहरूको निर्माण औ सञ्चालनमा उहाँको अहं भूमिका रह्यो । उहाँको जन्मथलो आठराई तेह्रथुमको सिम्लेको पोखरी भन्ने ठाउँमा उहाँले ठूलो खर्च लगाई मा.वि. को स्थापना गर्नु भयो । न जाने कसको आँखी लाग्यो या के भयो, एक दिन अचानक त्यो प्रख्यात शिक्षालयमा भयानक आगो लाग्यो र ठूलो क्षति भयो । तर देवीप्रसाद उप्रेती र छिमेकी ग्रामीण जनताहरूले हिम्मत हार्नु भएन । त्यो स्कूल पुनः निर्मित भयो र अहिलेसम्म सुचारू रुपले चल्दै छ ।
आचार, विचारले समतावादी श्री उप्रेती
देवीप्रसाद उप्रेती अचम्मको व्यक्ति हुनुहुन्छ । कुनै गर्व छैन । अत्यन्त साधु हुनुहुन्छ । शाकाहारी हुनुहुन्छ । यति बढी साधु हुनुहुन्छ कि दुःख सुख, मान अपमान सबै समान मान्नु हुन्छ । जस्तो कि उखानै छ र संसारको चलन पनि छ 'बलेको आगो मात्रै सबैले ताप्छन् ।' अघि देवीप्रसादको घरमा खुट्टा हाल्ने ठाउँ हुँदैन थियो । आज देवीप्रसाद उप्रेती लगभग ८० वर्षको बृद्धावस्थामा पुग्नु भएको छ, रोगी पनि हुनुहुन्छ तर जस जसलाई उहाँले जीवनमा गुन लगाउंनु भयो तीमध्ये कमै मात्र होलान् जो उहाँलाई आज सम्झिंदा होलान् । उहाँ आज ऋषितुल्य जीवन यापन गर्नुहुन्छ । बिहान मनमा जे आउँछ फुलिस्केपमा दुई पन्ना लेख्ने उहाँको पुरानो आदत छ । त्यसैले उहाँको अक्षर मोती / जस्तो सुन्दर हुन्छ । न जाने के लेख्नु हुन्छ तर जे लेख्नु हुन्छ त्यो निश्चय पनि जीवनको अनुभवको आधारमा लेखिएको हुनुपर्छ र यसको महत्त्व पनि ज्यादै हुनैपर्छ । कमै मानिस हुन्छ जो तल्लो तहबाट आफ्नो परिश्रमले माथिल्लो तहमा पुगेको हुन्छ र त्यहाँ पुगेर पनि मद मोह र मात्सर्यबाट टाढा हुन्छन् । २०३६ सालको जनमत संग्रहको बेला उहाँ झापामा नेपाली कांग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो तर त्यसपछि उहाँको स्वास्थ्यमा धेरै गिरावट आयो र हिजोआज हिड्डुल नियन्त्रित भएको छ । पूर्वका एक धनाढ्य जमिन्दार, भूमिसुधार लागू भएपछि धेरै आर्थिक क्षतिमा पर्नुभयो । तर जे सक्दो समाज सेवा गर्ने तल उहाँको अझै छुटेको छैन । कतिपय साहित्यकारहरूलाई, कैयन पत्रकारहरूलाई उहाँ अझै पनि यथासक्य सहयोग दिनुहुन्छ । जो उहाँको समीप जान्छन् उपकृत भएर फर्किन्छन् । आश्चर्य लाग्छ कि यत्तिका वर्षसम्म उहाँ जस्तो समाजसेवीको कसैले कदर गरेन । के सामाजिक सेवा समन्वय परिषद्सँग यस्ता व्यक्तिहरूको लगत छ ? शायद उहाँले पञ्चायती व्यवस्थामा प्रवेश न गरेर हो कि यही कारण हुनसक्छ कि उहाँको यहाँ आदर भएन । साच्चै भनुं भने उहाँ अद्भूत व्यक्ति हुनहुन्छ । ए बी सी डी पढ्नु भएन । तर धेरैलाई स्नातक बन्ने प्रेरणा २ सहयोग दिनुभयो । उहाँलाई पूर्वको तुलसी मेहर, वा बिनोबा भावे भने पनि हुन्छ । त्यति बढी एकताका धनसम्पति हुँदा पनि उहाँले कतै आफूलाई सुहाउने एउटा पक्की आधुनिक घर बनाउनु भएन । अझै अत्यन्त साधारण घरमा बस्तु हुन्छ । सधै गाउँमा बस्नुभयो । शहरमा शायद उहाँले कुनै आकर्षण पाउनु भएन । यो पनि उहाँको एक अर्को विशेषता हो । छोराछोरीहरू आ-आफ्नो स्थानमा छन् । बृद्धावस्थामा उहाँ केवल अर्धाङ्गिनीको साथमा सात्विक जीवन व्यतित गर्नु हुन्छ । समाजसेवाका लागि जहाँ कहीबाट कसैले आमन्त्रण दिन्छ परिश्रम गरेर पनि पुग्नुहुन्छ । उच्च विचार राख्नु हुन्छ तर समाज र समयले उहाँलाई कहिल्यै साथ दिएन । उहाँ केही गर्न सक्नुहुन्थ्यो । उहाँको चाहना थियो । ...
