सरस्वतीको सभा - डा. तारानाथ शर्मा

डा. तारानाथ शर्मा
डा. तारानाथ शर्मा

स्वच्छ, निर्मल र नीलो आकाशमा धप्पधप्प बलेका सूर्यलाई कहिलेकाहिं गोलाकार इन्द्रेनीले घेर्यो भने 'आज इन्द्रको सभा बसेको छ, पक्का पनि कुनै पुण्यात्माले पृथ्वी छाडेछ' भनी बूढापाकाहरूले भन्ने गरेको तपाईहरूले सुन्नुभएकै होला । इन्द्रले बोलाएको त्यस सभामा देवताहरू भेला भएर त्यस धर्मात्माको स्वागत गर्छन् रे । अनि त्यो दिवंगत मानिस धन्यधन्य- हुन्छ रे । यो भयो रे को कुरो तर मैले उल्लेख गर्न खोजेको सभा भने देवताहरूको नभएर मानवहरूको हो र कहिलेकाहिं झल्याकझुलुक हुने नभएर स्थायी हो, चिरस्थायी हो । वास्तवमा यो सभा सरस्वतीका आफ्नै सन्तानहरूको हो, नेपालका सुपुत्रसुपुत्रीहरूको हो, शिक्षा समाजसेवा र साहित्यमा जीवन समर्पण गर्नेहरूको हो । यस सभाको सभापतित्व कविशिरोमणि लेखनाथ पौड्यालले गरेका छन् र मुख्य सभासद् भएर उनका दायाँ बायाँ महाकवि लक्ष्मीप्रसाद देवकोटा र साहित्यमनीषी बालकृष्ण सम वसेका छन् । सृष्टि, स्थिति र संहारका जिम्मा लिने ब्रह्मा, विष्णु र शिवजस्तै नेपाली साहित्यका पौड्याल, सम र देवकोटाले त्रिमूर्ति भएर यस सभालाई गरिमामय बनाइरहेका छन् ।

जतिसुकै विशिष्ट भए पनि यो मानवसभा भएकाले अन्तरिक्षमा नबसेर पृथ्वीकै एक कुनामा एउटा घरभित्र बसेको छ । यस अविस्मरणीय सरस्वतीको सभामा जम्मा २४ जना व्यक्तिहरूको उपस्थिति छ । मलाई सधैं नै दुई जना महिला र एक बालकसमेत भेला भएको यस सभाले दार्जीलिङलाई मात्र नसिंगारेर समस्त नेपाली जगत् लाई प्रतिष्ठित तुल्याइरहेको छ भन्ने अनुभूति हुन्छ ।

धेरै पहिलेको घटना पनि होइन, तर प्रकारान्तरले इतिहास नै भइसकेको छ । कविवर धरणीधर कोइराला, इतिहासकार सूर्यविक्रम ज्ञवाली र निबन्धकार शङ्कर लामिछानेलाई ऐतिहासिक भन्न नमिल्ने कुनै प्रमाण पनि मसित छैन । शैक्षिक र कूटनैतिक क्षेत्रमा चमत्कार देखाउने नेपाली प्रतिभाका प्रतीक रामप्रसाद मानन्धर तथा राष्ट्रिय शिक्षा र प्रशासनमा समस्त जीवन अर्पित गरेर हाम्रो बौद्धिक जगतमा कहिल्यै नमेटिने छाप छाड्न सफल दीर्घसेवा कोइरालाजस्ता हस्तीहरूकै हाराहारी सातसालको जनक्रान्तिलाई आफ्नो कुशल नेतृत्व प्रदान गरेर समस्त सुदूर पूर्वाञ्चललाई गौरव प्रदान गर्ने कर्मठ र जनप्रिय समाजसेवी नरेन्द्रनाथ बाँस्तोला र बालकृष्ण समकै छेउमा विराजमान नेपाली नारीजगत्की सशक्त, संवेदनशील र प्रजातान्त्रप्रति समस्त रूपले समर्पित प्रबुद्ध व्यक्तित्व पुण्यप्रभादेवी ढुङ्गाना यस ऐतिहासिक सभाका अरू उपस्थित सदस्य हुन् । यस भेलाले खास दार्जीलिङलाई समाजसेवा, संस्कृति र शिक्षाक्षेत्रमा प्रसिद्ध पी.टी. लामा र कथाविधा र शिक्षण व्यवसायमा ख्यातिप्राप्त प्रखर व्यक्तित्व परशुराम रोकाबाट प्रतिनिधित्व गरेको छ भने सन्तानब्बे सालका महान् शहीदहरूको अमर इतिहासलाई सजीवता दिदै राष्ट्रिय र श्रद्धेय धर्मभक्त माथेमाकी सहोदर बहिनी चन्द्रकान्ता मल्ल सशरीर उपस्थित भइदिनाले समग्र सभाभवन नै आलोकित भएको छ । अरू उपस्थितहरूमा चिकित्सा फाँटका सहृदय समाजसेवी कवि भीष्मराज प्रसाईं, औषधिविज्ञानका धुरन्धर ज्ञाता गङ्गानाथ बाँस्तोला तथा परोपकारी र स्नेही झापाली फत्तेबहादुर बुढाथोकी पनि पर्छन् । यहाँ बाल र किशोरवर्गको समेत प्रतिनिधित्व हुनुपर्छ भनेर पाँच जना जाँगरिला ठिटाहरूलाई भेला पार्ने सक्रिय शिक्षक निर्मल शर्मा, दीर्घराज कोइराला र सूर्यविक्रम ज्ञवालीका बीचमा पछिल्तिर नेपाली टोपी जडेर चश्माभित्रका उत्सुक आँखा घुमाउँदै उभिरहेका छन् । सभाको मध्यभाग छान्दै कविशिरोमणिको ठीक अघिल्तिर पल्याँटी कसेर बालक गौतम मान्धर बसेका छन् भने उनका पिता रामप्रसाद मानन्धरको पछिल्तिर छड्के परेर चारजना इलामे ठिटाहरू वीरेन्द्रनाथ खुँजेली, त्यसपछिल्तिर उसरी नै छड्के पंक्तिमा हरिनाथ बाँस्तोला, अग्निराज श्रेष्ठ र तारानाथ शर्मा उज्ज्वल भविष्यप्रति जिज्ञासु मन बोकेर अनन्ततालाई अँगाल्दै लहरै उभिएका छन् । यी युवकहरूलाई र सभासद् समस्तलाई टाउका गन्दै अग्ला, एक्ला र एकसुरे ईश्वर बराल सबभन्दा पछिल्तिर ढोकैमा टङ्ग्राङ्ग रखवालीमा खडा छन् ।

यो समूह इलामको पूर्वी भागमा स्थित रमणीय कर्फोक विद्यामन्दिरको प्राङ्गणमा सम्पन्न बृहत् नेपाली भाषा र साहित्यको सम्मेलनसँग प्रत्यक्ष रूपमा सम्बद्ध छ । त्यस सम्मेलनलाई गौरवशाली तुल्याउनेहरूमध्ये कवि र भाषाविद् महानन्द सापकोटा तथा नेपाली भाषाभास्कर पारसमणि प्रधानलाई भने यहाँ उपस्थित गराउन सकिएको छैन । त्यसैले कर्फोक विद्यामन्दिरकै अघिल्तिरको पार्वतीय काखमा स्थित पञ्चकन्या देवीलाई पनि केही पीडाको अवश्य चस्को लागेको छ, तर सबभन्दा ठूलो व्यथा, वेदना र वियोग भने तिनै देवीका परम भक्त, परोपकारी, दानवीर देवीप्रसाद उप्रेतीका हृदय र मस्तिष्कमा उर्लिरहेको छ, जसको प्रमाण उनको नेपाली टोपीमुन्तिर उच्च ललाट केही पछिल्तिर ढल्केको, ती सदा सहानुभूतिशील नेत्रद्वय गम्भीर भएर मधुरा भएको तथा नित्य हँसिला ओठहरू बिलखबन्दमा परी चपक्क टाँसिएको स्थितिबाट मिल्छ ।

वास्तवमा कतिपय सार्वजनिक भलाइका भेलाहरूमा देख नेतृत्वको भन्दा अदेख प्रेरणाको बढी हात हुन्छ । हो, देखमा यसका प्रबन्ध निश्चय नै कर्त्तव्यनिष्ठ नरेन्द्रनाथ बाँस्तोला र स्वप्नद्रष्टा महानन्द सापकोटा थिए, तर अदेखमा, पृष्ठभूमिमा र बलियो काँध थापेर जगमा जम्ने महामाता दुर्गादेवीका प्रसाद र बरद्‌पुत्र देवीप्रसाद उप्रेती नै यस सभाका आन्तरिक प्रेरणा थिए, वास्तविक कारक थिए तथा सारा संयोजनका सहज सर्जक थिए” देवीप्रसाद थिए ।

कतिपय कारणले कर्फोकको सम्मेलनस्थलमा सचित्र खिच्न पाइएन । २०१० सालको त्यस अविकसित युगमा इलामको अनकन्टार गाउँले डाँडामा क्यामेरामा सुव्यवस्थित उपकरणहरू पुगिसकेका पनि थिएनन् । मुख्य सभासद्हरूलाई लानैपर्ने भयो । हामी दार्जीलिङमै पढ्ने युवाहरू र दर्जीलिङमै पढाउने धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली, ईश्वर बराल, पी.टी. लामा र परशुराम रोकाजस्ता व्यक्तिहरू त त्यस ऐतिहासिक चित्रमा पर्न पायौं, तर अड्डी कसेर कर्फोकमै छोडिने महानन्द सापकोटा र मणि छापाखानाको आफ्नो घर छोडेर दार्जीलिङ बजारमा पाइलै टेक्तिन भनेर प्रण गर्ने पारसमणि प्रधान भने छुटेका छुट्यै भए । समयले ती भाषासेवीद्वयलाई ठगेको हो वा हामी समस्त भाषासाहित्यका विद्यार्थीहरू ठगिएका हौं, कसले भन्न सक्छ ?

यो वर्णन त्यस ऐतिहासिक चित्रको हो जो दार्जीलिङको दास फोटोमा २०१० सालमा खिचिएको थियो र जसको मूलप्रति कर्फोक विद्यामन्दिर पुस्तकालयको भित्तामा अझसम्म पनि टाँगिएको छ । मूलप्रति विस्तारी- विस्तारी जर्जर हुँदै र धमिलिदै गए पनि मेरा हृदयभित्रको त्यसको प्रतिलिपि उत्तिकै झल्झलाकार छ जत्ति पौडयाल, सम र देवकोटाको त्रिमूर्तित्वको ज्योति छ र अझ बढी त यी सबै विलक्षण व्यक्तित्वहरूलाई एक ठाउँ संयोग गराउने बाहिरबाट अदेख तर मेरा भित्री आँखामा ज्वलन्त चम्चमाउने हात नै छ ।

गौतम र त्रिमूर्तिका गलामा फूलका माला छन् । अघिल्ला बालक गौतम अचेल त्रिभुवन विश्वविद्यालयमा कार्यरत छन् रे । पहिलो पंक्तिमा कुर्सीमा बसेका सातैजना अर्थात् चन्द्रकला, पुण्यप्रभादेवी, सम, पौडयाल, देवकोटा, धरणीधर शर्मा र प्राध्यापक मानन्धरका पार्थिव शरीर आज हामीसँग छैनन्, प्यारा पार्थिव शरीरहरू पछिल्तिर उभिने निर्मल शर्मा, शङ्कर लामिछाने, सूर्यविक्रम ज्ञवाली र यस सारा बृतान्तका जनक देवीप्रसाद उप्रेतीसमेतका, तर उनीहरूका साहित्यिक, सामाजिक र शैक्षिक परोपकारको कीर्तिपताका भने यस चित्रले सधैं फर्फराईरहने छ । शरीरमा बाँचेकाहरू पनि श्रद्धासाथ उभिएर त्रिमूर्तिप्रति आदर प्रकट गर्दै नै छन् र आफ्नाआफ्ना प्रतिभा, परिश्रम र प्राप्तिका झोला बोकेर गतिशील भइरहेकै छन्, गन्तव्यतिर लम्किरहेकै छन् र राष्ट्रिय आकाशमा चम्किरहेकै छन् ।

हो, नील नभमण्डलमा सप्तरङ्गी मालाले पवित्रधामतिर जाने पुण्यात्माको स्वागत जनाउँछ भने प्रकृतिको क्रीडास्थल सुदूर पूर्वको कर्फोकमा टाँगिएको यस ऐतिहासिक चित्रले पनि ती महान् र उदारमना देवीकाप्रसादका परोपकारी आत्माको स्वागत जनाउँछ जो हाम्रा हृदयमा प्रेरणा भएर, पथप्रदर्शक भएर र प्रकाशपुञ्ज भएर जग्मगाइरहेका छन् र सधैँ जग्मगाइरहने छन् ।

सरस्वतीको सभा - डा. तारानाथ शर्मा