पशु पक्षीहरूलाई लुगा लाउनु नपर्ने । लुगाको सट्टा प्रकृतिले नै शरीर भरि रौ उमारिदिएर जाडोले नभेट्ने पारिदिएको । मुनष्य, सबै प्राणीभन्दा चेतनशील, बढी बुद्धि र बुद्धिलाई धैर्यपूर्वक व्यवहारमा ल्याउन विवेकको कन्तुर समेत भेट्टाएर आफूलाई सबैभन्दा श्रेष्ठ प्राणीमा गणना गर्ने गरेको सुन्नमा आउँछ । तर, ऊ नाङ्गो छ शरीरमा नाम मात्र भुत्ला छन् । जाडो थेग्न सक्तैन, घाम पानी सहन सक्तैन । सबै प्राणीभन्दा कमजोर प्रायः देखिन्छ, तर, उसैले दावी गर्छ सर्वश्रेष्ठताको । उसले जति अर्कालाई दुःख दिएको सायदै अरू कुनै प्राणीले होला । श्रेष्ठताको माने अरूलाई दुःख दिनु नै हो त ? अर्कालाई दुःख क्षति पुऱ्याउँन सक्ने हुनाले नै सिंहलाई अलि मर्यादा गरेको देखिन्छ । मनुष्यले पनि आफ्नो नामका पछाडि अन्त्यमा 'सिंह'को फुर्को लाउने गरेको अक्सर हामी पाउँछौं । यति खेर मलाई देवकोटा गुरुको निबन्ध 'मान्छे ठूलो कि हात्ती' भन्न मन लागेको विवरण संझन्छु । ठूलो सानोको पनि आ- आफ्नै व्याख्या परिभाषा हुने गर्दोरहेछ । र, मलाई पनि मान्छेभन्दा हात्ती नै ठूलो भन्न मन लाग्यो । मान्छेले जति धेरै दुःख अर्कालाई दिन हात्तीले सक्तैन । हात्तीसंग यति धेरै दुःख छँदै छैन, के देओस् अरूलाई । मान्छेले ठूलो दुःखको पहाडै बोकेको छ । उसले दुःख बाँडेरै सक्तैन । बराबर-बारबर अफ्नो दुःख अरूलाई दिदै गर्छ । दुःखको धनी मानव ! तँ धन्य छस् ।