प्रजातन्त्र र अनुशासन

प्रजातन्त्रमा आफूले आफूलाई अनुशासन राख्नु पर्ने । हामी आफूसँग विचार नमिल्नेलाई गाली गछौं वा उसको उछितो काड्छौं । प्रत्युत्तरमा उसले पनि पाँडे पुराण सुनाउने गर्छ । यही परस्परको रागे आलापलाई हामीले प्रजातन्त्रमा पाएको अधिकार संझेर मख्ख पछौं । अधिकार भन्ने कुरा कर्तव्यले मात्र डाकेर ल्याउँछ भन्ने कुरा हामी बुझ पचाएर बिर्सने गछौं । प्रजातन्त्रमा अर्काको भनाइ सुनेर खप्न सक्ने बानी बसाउनु पर्छ । हामी अर्काको कुरा सुन्न चाहदैनौं । आफ्नो कुरा भनिरहन व्यस्त रहन्छौं । अनि विपक्षीमा उभिन पुग्नेले पनि आफ्नो कुरा फलाकिरहन्छ । हामीले पाएको बहुदलीय व्यवस्थाभित्र हामी यसरी प्रगति गरिरहेका छौं । गतिशील, प्रगतिशील भनाइको होडबाजीमा उछिनापछिन गर्दै छौं । गति केलाई भनिन्छ ? प्रगति कस्तोलाई भनिन्छ ? यस्ता शब्दको अर्थ त हामीले राम्ररी नै बुझेका हौंला । अर्थ बुझेका भरमा हामी कुद्ने गछौं, तर त्यस्ता शब्दले बोध गराएको अर्थलाई व्यवहारमा प्रयोग गर्न आईपुगदा प्रचुर मात्रामा आवेश बोकेर आउछौं । पचाउन नसकेका कुराले अजीर्ण गराएको पेटको मैला वमन गर्ने उद्देश्य बोकेर ।

कुरामा नुन, खोर्सानी, मसला मिलाएर चर्को जिब्रो फट्कार्ने चलन हामी चलाउन मन पराउछौं । जीवन निर्वाहसंग सम्बन्ध राख्ने काम कुरामा हामी ध्यान दिन चाहदैनौं । सबै प्रकारको तन्त्र मन्त्र यन्त्र चाहिएको जीविका चलाउने कार्यमा सघाउ पुऱ्याउन सक्लाकि भनेर । भोको भोकै छ, नाङ्गो नाङ्गै छ । हामी गफ हाक्छौं राजा मन्त्रीका र पार्टी नेता प्रणेताका । बेलुका घर पुग्दा हात मुख जोरिने चांजो मिलेको छैन, नेतागिरी गरेर हवाई किल्ला बनाउने गर्छौं हामी । नेपाली स्वभाव, काम हैन कुरा गर्ने बानी बसालिएछ । भो अब कुरा नगरौं ।

-देवीप्रसाद उप्रेती २०४७।७।९।६

← सबै लेखनहरूमा फर्कनुहोस्